ओलीले गणतन्त्र मास्ने योजना बनाइरहेको प्रचण्डको दाबी

ओलीले गणतन्त्र मास्ने योजना बनाइरहेको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग भेटेर गणतन्त्र उल्ट्याउने छलफल गरिरहेको आरोप लगाउनुभएको छ । आज कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले ओली गणतन्त्र उल्ट्याउन लागि परेको दाबी गर्नुभएको हो ।

ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको सूचना आफूकहाँ आइपुगेको प्रचण्डको दाबी छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पछिल्लो राजनीतिक परिवर्तन ओलीले स्वीकार नगरेको भन्दै उहाँले अस्तिमात्रै राजावादीसँग मिलेर उल्ट्याउन खोजिरहेको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो ।

‘उनले सँधै भन्थे मलाई यो संघीय लोकतन्त्र मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्ट्याएको पनि मन परेको छैन, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु’, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको समेत बताउनुभयो । माओवादीलाई पुनः नेतृत्व दिलाउन नेता–कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको विकास र समृद्धिको लागि आत्मालोचना गरेर पुनः स्थापित हुनुको विकल्प नभएको उहाँको भनाइ छ ।

‘हाम्रै आन्दोलन र परिवर्तनप्रतिको हाम्रो स्वामित्व, अपनत्व जुन उचाई, उत्साहकासाथ हामीले त्यसलाई ग्रहण गर्नुपर्ने र त्यसलाई जनतामाझ स्थापित गरिराख्नु पर्ने हो, त्यसो गर्ने जोश, उत्साहमा अहिले कमी आएको हो कि जस्तो देखिएको छ, प्रचण्डले भन्नुभयो, ‘हामीले राम्रा राम्रा काम गर्यौं, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ । मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ, यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ । आत्मालोचनासहित जनताको घरमा जाने काम गर्यौं भने केही महिनाभित्र उभार आउन सक्ने सम्भावना छ ।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकाका भूमिहीनहरुलाई लालपूर्जा वितरणका लागि माओवादी लागि पर्ने भन्दै सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिसकिएको जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको उहाँको भनाइ छ ।

प्रचण्डले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।

टिप्पणीहरू