प्रधानन्यायाधीशको ६ महिने भाखा न्यायाधीशहरुद्वारा अस्वीकार

प्रधानन्यायाधीशको ६ महिने भाखा न्यायाधीशहरुद्वारा अस्वीकार

‘ग्रेसफूल एक्जिट’ का लागि भन्दै ६ महिनाको भाखा माग्ननुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रस्ताव सर्वोच्च अदालतका न्यायाधीशहरुले अस्वीकार गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै एक सातादेखि इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरुले चैतपछि पद छोड्ने राणाको प्रस्ताव अस्वीकार गरेका हुन् ।

आफूहरुसँगको हिजोको छलफलमा न्यायालय सुधारका काम गरेर सम्मानजनक बहिर्गमन रोज्ने बताउनुभएका प्रधानन्यायाधीश राणा सोहीअनुसार लिखित सहमति गर्न तयार नभएपछि उहाँको प्रस्ताव अस्वीकार गरेको एक न्यायाधीशले बताएका छन् ।

केही दिनयता इजलास बहिष्कार गरेर छुट्टै छलफल गरिरहेका न्यायाधीशहरुले हिजो राणासँग दोस्रो पटक वार्ता गरेका थिए । न्यायाधीशहरुले अनिल सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्मा रहेको तीन सदस्यीय वार्ता टोली नै गठन गरेर प्रधानन्यायाधीशसँग छलफलमा पठाएका थिए । वार्ता टोलीले हिजो साँझ र आज दुई पटक राणासँग वार्ता गरेको थियो ।

वार्ताका क्रममा आफूले न्यायालयमा केही सुधार गरेर मात्र बाहिरिन चाहेका कारण चैत्रसम्ममा प्रशासनिक सुधारका काम गर्ने र वैशाखबाट बिदा लिने प्रस्ताव राणाले गर्नुभएको बताइएको थियो । राणासँगको वार्ताबारे आज छलफल गरेका न्यायाधीशहरुले प्रस्ताव अस्वीकार गरेको बुझिएको छ । राणाले अप्ठेरोमा पर्दा जे पनि हुन्छ भन्ने तर कार्यान्वयन नगर्ने गरेका कारण विश्वास गर्ने आधार नबनेको एक न्यायाधीशले बताए ।

राणाले भने ६ महिनासम्म आफू कुनै इजलासमा पनि नबस्ने, गोलाप्रथाबाट पेशी तोक्ने र यो अवधिमा न्यायालयको प्रशासनिक सुधारका काम गर्ने बताएको ती न्यायाधीशले जनआस्थालाई बताए । तर, उक्त प्रस्ताव लिखित गर्न भने राणाले आनाकानी गरेको बताइन्छ ।

टिप्पणीहरू