आन्द्रा भुँडी जाँच्नेलाई कमाण्डोको कमाण्डर

आन्द्रा भुँडी जाँच्नेलाई कमाण्डोको कमाण्डर

सशस्त्र प्रहरी बलभित्रको भद्रगोल एकपछि अर्को गरेर बाहिर निस्कन थालेको छ । चुस्त,दुरुस्त हुनुपर्ने सुरक्षा निकायहरु आफ्नै स्वार्थको दलदलमा भासिन थालेका छन् । प्राविधिकलाई अप्राविधिक क्षेत्रको हाकिम बनाएपछि संगठनको अवस्था दयनीय बन्न बेर नलाग्ने भन्दै सशस्त्रका अधिकारीहरुले चिन्ता पोख्न थालेका छन् ।

अहिले त्यस्तै गाईजात्रा ककनीस्थित कमाण्डो तालिम केन्द्रमा देखिएको छ । विशेष खालको युध्दकला सिकाइने केन्द्रको हाकिममा प्राविधिक एसएसपीलाई लगिएको छ । उनी विशेषगरी मृतकहरुको कारण र पहिचान पत्ता लगाउने भिसेरा जाँचकी हुन् ।

अहिले उक्त केन्द्रको प्रमुखमा एसएसपी प्रदीप पाललाई लगिएको हो । उनी विशेषज्ञताको हिसाबले भिसेरा जाँचकी हुन् । अर्थात् स्वास्थ्य प्राविधिक हुन् । तर उनैलाई कमाण्डो तालिमको गुरु बनाएपछि सबै तीनछक परेका छन् ।

सशस्त्रको ककनी तालिम केन्द्रमा विदेशीहरुलाई समेत तालिम दिइन्छ । पाल उनै एसएसपी हुन् जो गत भदौमा सरकारले गठन गरेको हुम्लास्थित नेपाल चीन सीमा अध्ययन कार्यदलका सदस्य थिए । त्यतिबेला पनि मरेको शरीर हेर्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय सीमाको अध्ययन गर्न लगाइएको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले यसवीच आफ्नो भतिजोलाई रुपन्देहीको एसएसपी बनाएर पठाएका छन् । जबकि उनी प्रष्टसँग बोल्न सक्दैनन् ।

कमाउ र मोज गर भन्ने सिद्धान्तले अघि बढेको सशस्त्रको नेतृत्वले यसबीच मणिग्राममा भाइको लगानी भन्दै दुई तारे होटल बनाएको गाईंगुईं चलेको छ । गौंडा गौंडामा आफ्ना मान्छे सेटिङ गरेर हाकिमहरुले हिजोआज प्रत्येक दिन पैसाले बोरा भर्ने गरेको कनिष्ठ कर्मचारी र अधिकृतहरुले आरोप लगाएका छन् ।

सशस्त्रमा यसअघि तीन महिने सामान्य तालिम गरेका इन्जिनियर कोषराज वन्तलाई बकायदा महानिरीक्षक नै बनाइएको थियो । तर उनीसँगै १६ वटा विशेष खालका तालिम गर्नेहरुलाई त्यतिबेला हेरेको हेर्यै बनाइयो ।

अहिले त्यहि तीन महिने सामान्य तालिम गरेका भीसीआर परीक्षक कमाण्डो तालिम केन्द्रको गुरु बनेपछि सबैले अचम्म मानेका हुन् । केही समयअघि कमाण्डो तालिम गरेका एक जना डिएसपीले भने, ‘कसरी चलाउँछन् होलान् ती हाकिमले कमाण्डो ?’

टिप्पणीहरू