आफ्नै अनुहार हेर्न ऐना किन्ने कि ?

  • तीर्थ सिग्देल
     
अब पनि कुनै प्रणालीका लागि आन्दोलित हुनुपर्ने छ र ? अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्थाको पनि विकल्प छ ? के अहिले नै यो अवस्थामा नेपालमा समाजवाद आउला ? सडकमा उर्लेका कतिपय आवाजले भनेजस्तो अधिनायकवादको स्थिति हो अहिले ?
 
ठीक यहीबेला कांग्रेस एउटा अभियान– हिमाल, मधेस, पहाड, तराई अर्थात् हिमपत अभियानमा छ । यस्ता अभियानले राजनीतिक प्रणालीमा देखिएका खराबीको पहिचान गर्न मद्दत गर्छ । त्यसको पहिचान गरेर अगाडि बढ्न सहयोग गर्छ मात्र होइन, आफ्नै अनुहार हेर्ने ऐना किन्न पनि बाध्य पार्छ ।
 
यो अभियानले केही हदसम्म आफ्नो कदको पहिचान गर्न सहयोग पु¥याउँछ । अर्थात्, मुर्छाएको कांग्रेसलाई केही खिरिलो पक्कै बनाउनेछ । पक्कै पनि कांग्रेसी कार्यकर्ताले आफ्नो गन्तव्य पहिल्याउनेछन् । बीच–बीचमा अल्मलिएकाल दिशा भेट्ने नै छ । यसबीच सरकारविरुद्ध सडकमा कतिपय स्वतन्त्र नामक अभियानमा देखिएको कांग्रेस कार्यकर्ताको लगावले उनीहरूमा जागरणको खाँचो रहेको प्रस्ट पार्छ ।
 
अनेक अभियन्ताका भेषमा देशभरका कांग्रेसी कार्यकर्ताको शरीरमा लागेको सुल्सुलेले अन्ततः कांग्रेसलाई नै क्षति भयो । किनभने मान्छे कहिले पनि एउटै विचारमा लामबद्ध भइरहन सक्दैन । उसमा अनेक सोच पलाउँछ, ठीक बेठीक छुट्याउन पनि सक्छ, मान्छे ।
 
फेरि प्रतिगामी शक्तिले आतंकको हतियार प्रयोग गर्न थालेको आभाष मिलेको बेला थालिएका यस्ता अभियानले त्यस्ता केही सवाललाई सतहमा ल्याएको छ र विभिन्न विकारयुक्त सोचको कारकतत्वको पहिचान गर्न सजिलो पनि भएको छ ।
यतिबेला खासगरी राजा फर्काउने प्रयासस्वरूप चारैतिर विभिन्न बहानामा खेल जारी छन् । मूूलतः यो अवस्था ल्याउनु र आउनुमा त्यो पक्ष मात्र जिम्मेबार देखिँदैन । कता कता सरकारी निकायको लाचारीपन पनि जिम्मेवार हुन्छ । सरकारका कतिपय निकाय र कर्मचारीको घुसखोरी प्रवृत्ति अझ बढी छ । सरकारका धेरै अड्डा आज पनि चरिखाने अखडाकै रूपमा कार्यरत छन् । परिवर्तन त आयो तर आज पनि सरकारी खर्चको परम्परा उस्तै छ । असोज लाग्यो । तैपनि, नयाँ कामको सुरुवात भएको छैन ।
संघीयतालाई प्रयोग गर्ने कि उपयोग भन्ने प्रश्न उब्जिँदै गएको छ । उपयोग गरेर पुुरानै ढर्राको शासन, प्रशासन चलाउने हो भने किन चाहियो संघीयता ? किन चाहियो, स्थानीय शासन ? अहिले जनताले यो प्रश्नको उत्तर मात्र खोजेका छन् । आतंक चाहेका छैनन् । सरकारी निकायले पहिले यो प्रश्नको उत्तर दिए मात्र आतंकको छायाँ बिलाउनेछ । उही शैली, उही प्रशासन र उस्तै कार्यशैलीका बीच कसरी सुशासन आउला र ?
राजनीति अविरल बग्ने नदीजस्तै हो । यद्यपि, हाम्रो राजनीतिको मियो, अलिक सिधा ट्र्याकमा देखिँदैन । यदाकदा त्यो राजनीतिको मियो गलत तरिकाले घुमेको र कतै स्थिर पनि देखिन्छ । खासमा हामीले ल्याएको व्यवस्था अब अन्तिम व्यवस्था हो । योभन्दा पर ल्याउनुपर्ने कुनै तन्त्र छैन । जबसम्म सबै दलले आफ्नो दस्ताबेजमा यो कुरा लेख्दैनन्, तबसम्म आन्दोलन वा जागरण अभियानका नाममा जनतामाथि व्यापार भइरहनेछ ।
अहिले पनि हामीले संघर्ष, आन्दोलन र क्रान्तिलाई नै राजनीतिको आधार मानेका छौं । प्रायः सबै दलको दस्तावेज हेर्ने हो भने यस्तै भेटिन्छ । राजनीति र रूपान्तरणतिर परिवर्तन पनि हो । आजसम्म गरिएका सबै संघर्ष, त्याग, बलिदान, क्रान्ति र विद्रोहको सार अहिलेको प्रणाली हो । यसो हो भने अब केका लागि आन्दोलन, केका लागि संघर्ष ?
चाहे त्यो नेकपाको सत्ता चलाउने अहिलेको काइदा होस्, चाहे कांग्रेसले चलाएको हिमपत अभियान होस्, चाहे ज्ञानेन्द्र शाहीको जबरजस्त भण्डाफोर । यी सबै अभियानमा जोडिएका मान्छेहरूको मनले अहिले पनि यस्तै यक्षप्रश्नको उत्तर खोजेका छन् । त्यो मनोनेटको माध्यमबाट सञ्चार भइरहेको छ । नत्र पूर्वको बाहुनडाँगीदेखि पश्चिमको गड्डाचौकीसम्मका नागरिकले पहिलो पटक तत्कालीन माओवादीलाई किन सत्तामा पु¥याए ? र, पछि किन उसलाई सत्ताबाट ओराले ? किन ७ सालदेखिको संघर्षको मसिहा ठान्ने कांग्रेसलाई हिमपत अभियान चाल्ने ठाउँमा पु¥याए ? किन २ सय वर्षको राजतन्त्रलाई किनारा लगाए ?
चुच्चे ढुंगो उही टुंगो भन्ने उखानझैं नेपाली राजनीतिको मियोलाई अब उतैतिर घुमाइरहने कि नयाँ गन्तव्यतिर डोहो¥याउने ? बन्दुकको भाषा आज पनि बोल्ने कि समृद्धिको मार्गमा हिँड्ने ? यस्ता कैयन् प्रश्नको उत्तर आज पनि जनताले खाजिएकै छन् । 

टिप्पणीहरू