कहिलेसम्म आशयकरणी सहेर बस्ने ?

सभामुख आफ्नै कार्यालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोप खेपिरहेका छन् । चोक, चौताराजस्तै म कार्यरत एउटा कार्यालयभित्र पनि घरी घरी सभामुख प्रकरणको बहसले राम्रै स्थान पाउँथ्यो । असोज १४ गते, सबै काममा व्यस्त थियौँ । केही दिन पुराना समाचार पल्टाउँदै गर्दा एउटा भेटियो असोज १० गतेको ।

‘हनिट्रयाप’ मा पारेर ठगी गरेको भन्दै महिला पक्राउ परेको विषय । हनिट्रयापको यकिन अर्थ नबुझेपछि सहकर्मीमाझ जिज्ञाशा राखें । संयोगले सबैजना पुरुष सहकर्मी हुनुहुन्थ्यो । एकजना सहकर्मीले महिलाले प्रेमको नाटक गरेर फसाउने र ठग्ने प्रवृत्तिबारे बुझाइदिनुभयोे । धन्य भएँ, नजानेको, नबुझेको कुरा सहजै बुझाइदिने सहकर्मी पाएकोमा । तर मेरो यो खुशी छिनभरमै आक्रोशमा बदलियो । मलाई हनिट्रयापको अर्थ बुझाइदिने सहकर्मीले यी अर्को हनिट्रयाप भन्दै सुनाए । फर्केर हेरें, उनको अगाडि कम्प्युटरको स्क्रिनमा एक महिलाको तस्बिर थियो । खासमा ती महिलाले फेसबुकमा तस्बिर राखेकी थिइन् । उनी हामीले चिनेकै साथी थिइन् ।

तत्काल आपत्ति जनाएँ, ती साथीले हाँसी–हाँसी ‘ए, तपाईंले देखिसक्नुभो’ भनेर माफीको भावमा बोले । उनले त्यसबेला त्यो विषयलाई हाँसेर टारे तर म यो लेख लेख्दाको मितिसम्म उनले के आधारमा ती हाम्रै साथीलाई हनिट्रयाप भनेर मजाक गरे ? उनलाई ती साथीले कसरी ट्रयापमा पारेकी थिइन् ? अथवा कसलाई पारेकी थिइन् ? के ती सहकर्मीले मेरी साथीको अपमान गरेका होइनन् र भन्ने कुरा अहिलेसम्म मनमा बिझिरहेको छ । यो पढ्दै गर्नुहुने तपार्इं पाठकलाई यो विषय सानो र सामान्य लाग्ला तर मेरो मनले सामान्य वा सानो मान्नै सकेन । के ती सहकर्मी साथीले होच्याएर बोलेकै हुन् ? 

अर्को प्रसंग कोट्याऊँ, एउटै कार्यालयमा भए पनि कर्मचारी फेरबदलबारे सबै जानकारी हुँदैन । नयाँ सहकर्मी आएर काम गरिरहँदा पनि को होला भन्ने भैरहन्छ कहिलेकाँही । कुरा अलि वर्ष पुरानो हो । म कार्यरत एक संस्थामा नयाँ महिला सहकर्मी थपिनुभएको थियो । उहाँसँग त्यति नजिक भइसकेकी थिइनँँ । केहीले अर्को एकजना पुरुष सहकर्मीले व्यक्तिगत सम्बन्धका कारण ल्याउनुभएको भन्ने गर्थे । म सुनेको नसुन्यै गर्थेँ । केही समयपछि कार्यालयमा हल्लीखल्ली नै भयो । जसले नयाँ कर्मचारी कार्यालयमा ल्याएको भनिएको थियो, उनको गृहस्थीमा ती नयाँ कर्मचारीका कारण खटपट शुरु भएछ । यो विषयले यति ठूलो रूप लियो कि दुवैसामु कार्यरत कार्यालय छोड्नुको विकल्प थिएन । आरोप र अपमान सहेर बस्नुभन्दा भन्दै महिला कर्मचारीले कार्यालय छाडिन् । उही र उस्तै आरोप लागेका पुरुष कर्मचारीले किन छाड्थे ! छाडेनन् वा कार्यालयले छाड्न कर गरेन थाहा छैन । सम्बन्धमा प्रश्न उठेपछि र कार्यालय नै बदनाम हुने स्थिति आएपछि महिलाले त जागिर छाडिन् के ती पुरुषले छाड्नुपर्दैनथ्यो ?

केही समयपछि ती महिला सहकर्मीसँग जागिर छाडेको विषय र उनीमाथि लागेको आरोपबारे बुझ्ने प्रयास गरेँ । न पुरुष सहकर्मीले जागिर खुवाइदिएका थिए न उनलाई लागेकोे आरोप नै सही थियो । बरु पटक–पटकका म्यासेज रफोन कलले ती पुरुषबाट उनी कति हिंसामा परेकी रहिछन् भन्ने बुझें । बारम्बार यौनजन्य हिंसाको शिकार हुँदा पनि उनी बोल्न सकिनन् बरु खाइपाई खाएको जागिरबाटै हात धोइन् । कार्यालयमा ममाथि फलानो सहकर्मीले हिंसा गरेको हो भन्ने वातावरण भए के उनको जागिर जान्थ्यो ?

सञ्चारकर्ममा भएका कारण अरूका कार्यालयमा कसले के–कस्तो व्यवहार गर्ने गरेका छन् भनी खुब उछित्तो काढेर समाचार÷कार्यक्रम प्रकाशन/प्रशारण गरिन्छ । तर, आफ्नै सहकर्मीबीच कति मैत्रीपूर्ण व्यवहार हुने गरेको छ, कत्तिको विभेदमुक्त वातावरणमा काम गर्न सकिने अवस्था छ भन्नेबारे सायदै कसैले सोचेको होला । अर्काको कार्यालयको चर्चा खुबै गर्दा आफ्ना कार्यालयमा यस्तै त हो नि भनेर चुप बस्ने वा अस्वाभाविक व्यवहारलाई हाँसेर स्वाभाविक कहिलेसम्म मान्ने ?

टिप्पणीहरू