​भष्मासुरको पर्खाइमा छ भयंकर

लीला बराल

चिनियाँ राष्ट्रपति फर्किएको धेरै भएको छैन । हाम्रो विशिष्ट अतिथिले हाम्रो राजनीतिक नेतृत्वलाई नैतिकता, आचरण र निष्ठाबारे सम्झाएको विषय पनि सम्झनाबाट हराइसक्यो भन्ने लाग्दैन ।

अब चाँडै दक्षिणबाट राष्ट्रप्रमुख या प्रधानमन्त्रीको भ्रमण हुने चाँजो मिलाइँदै छ भन्ने सुनिन्छ । त्यहाँबाट पनि हाम्रा नेतालाई यस्तै दीक्षा प्राप्त नहोला भन्न सकिँदैन । यसो त छिमेकीबाट प्राप्त हुने यस्ता सल्लाह, सुझावलाई अप्रिय ठानेर उतर्सिनुको तुक पनि छैन । किनभने राम्रा कुरा सुन्नु÷सुनाउनु मानवीय स्वभाव हो । उपल्लो तहकै मानिस आचरण र नैतिक दायित्वबाट स्खलित हुने संस्कृति मौलाएको देखिँदै छ । अन्य ढाँचाका नैतिकहीन विकृति, विसंगतिमा पनि बढोत्तरी भएको छ । लोकतान्त्रिक मूल्य–मान्यतालाई सीमाहीन अराजकतामा बदल्ने चेष्टा हुन थालेको छ । नैतिकताको सीमा उल्लंघन गरेर नांगोनाच नाच्ने र अनेक प्रकारका अपराध कर्म गरेर दोषजति प्रधानमन्त्री वा सरकारलाई थोपरी चोखो हुन खोज्ने दुष्प्रवृत्तिले पनि टाउको उठाउन खोजेको छ । नैतिकहीन, माफिया र अपराधी राजनीतिक आवरणमा शक्तिमा पुग्ने नियोजित प्रयासमा छन् । यो घामजत्तिकै छर्लंग छ । यसलाई निरुत्साहित गर्न कुनै ठोस प्रयास भएको देखिँदैन ।

सत्ताबाहिरको राजनीतिक नेतृत्व सार्वजनिक महत्वका जरुरी मुद्दामा भन्दा सरकार प्रमुखलाई कदम कदममा धारेहात लगाएर सराप्नुमा आफ्नो उन्नति देख्छ । नागरिक तहबाट व्यक्ति व्यक्तिले र सामुहिक तवरबाट समेत राजनीतिमा भ्रष्टाचार, अनैतिकता र अपराधकर्म मौलाएको विषय उठान नभएको होइन । तर, त्यस्तो आवाज सुनी तदनुकूल सुधारका प्रभावकारी प्रयास खासै भएको पाइँदैन ।

जसको नेतृत्वमा बने पनि त्यसको प्रभाव सरकारमा नपरी छाड्ने होइन । आजका दिनमा राजनीतिक दल एवं तिनको नेतृत्वप्रति नागरिक तहमा जुन अस्वाभाविक वितृष्णा पैदा भएको देखिन्छ, त्यो यसैको परिणाम हो । नेतृत्व तहमा असल गुण या चरित्र छँदै छैन भन्ने पनि होइन । तर, त्यसको शिखाले किन मलीन प्रकाश फ्याँकिरहेको छ भन्ने प्रश्न मात्रै हो । त्यसलाई तीव्र ढंगले प्रज्वलित गर्ने शक्ति पराजित त भइरहेको छैन भन्ने जनस्तरको खुल्दुली पनि हो यो ।  राजनीतिमा सदाचारका सबै मान्यता यसैगरी पराजित हुँदै जाने हो भने यसको परिणति मलुकका लागि, नागरिकका लागि के होला ? अमेरिकी महादेशका कतिपय मुलुकलाई ड्रग्स माफियाले स्वर्गभूमि बनाएका छन् भन्ने सुनिन्छ । ती मुलुकका कतिपय भू–भागमा तिनैको शासन चलेको अनुभव सुनाउँछन् जानिफकारहरू । कतै हाम्रो नियति अर्को ढंगको माफियातन्त्रतर्फ उन्मुख त छैन ? विप्लवहरूको वितण्डा आफ्नो ठाउँमा छँदै छ, अमेरिका आफ्नो वार्षिक प्रतिवेदनको हवाला दिँदै नेपाल मुस्लिम आतंकवादीको ट्रान्जिट हँुदै गएको चेतावनी दिँदै छ । यी सबै प्रतिकूलतासँग लड्न सरकारको एक्लो प्रयास पर्याप्त छैन ।

सत्ता र सत्ताबाहिर रहेको राजनीतिक दलको नेतृत्वले किनारमा बसेर सुसेला मार्दै रमिता हेरेर मात्र दायित्व पूरा गरेको ठहर्दैन । आफ्नो कमजोर स्वास्थ्य अवस्थाबीच पनि प्रधानमन्त्री ओलीले साम्नेका प्रतिकूलता एवं मुलुकको पुरानो परिस्थिति परिवर्तन गर्न जुन अठोटसाथ सक्रियता देखाइरहनुभएको छ, त्यो सराहनीय छ । यसलाई कालो बादलमा चाँदीको घेरा भने पनि हुन्छ । यस्तोमा मुलुकका कार्यकारीको अठोट साझा हुन सक्यो भने त्यसबाट सार्थक परिणाम आउन सक्छ । अन्यथा अगाडिको भष्मासुर परिस्थितिले हामी कसैलाई पनि छाड्ने छैन ।

टिप्पणीहरू