​पागल बन्ने पालोको पर्खाइ

  • संकेत कोइराला

विश्वका चर्चित बडी बिल्डर आर्नोल्ड स्वार्जनेगर कुनै बेला क्यालिफोर्नियाको गभर्नर हुँदा एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नोल्डले चाहेको बेला त्यो होटलमा निःशुल्क बस्न पाउनेछन् ।’ समयको पदचापसँगै उनी पदविहीन भए । शरीर जीर्ण हुँदै गयो । मानिसले ओहोदा र औकात बिर्संदै गए ।

एकदिन उनी होटलले दिएको वचन सम्झिएर वास बस्न गए । तर, नयाँपुस्ताका होटल स्टाफले सभ्य व्यवहार गरेनन् । बिनापैसा सुविधा दिन नसकिने भनेर फर्काइदिए । आर्नोल्ड दुःखी भएनन् । बरु सँगै रहेको स्लिपिङ ब्याग ओढेर आफ्नै मूर्तिमुनि सुते । ‘यस्तो प्रतिष्ठित मानिसको किन खुला आकाशमुनि बास ?’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन्– ‘धन, पद, पावर र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउँम्याउँ गर्छ, हात मोल्छ, खुट्टा ढोग्छ । यी सबै अस्थायी हुन् । यो नरहने बित्तिकै नजिकिएकाहरू टाढा भाग्छन् । त्यसैले पद र पैसामा कहिल्यै घमण्ड नगरौं । आफ्नै मूर्तिमुनिको मेरो सुताइ यही सत्य सन्देशको उपज हो ।’ 

एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महŒव हुन्छ । मेलम्चीको पानी धारा धारामा झारिदिनुस्, धेरै प्रश्नको उत्तर त्यसले दिन्छ । जिब्रोमा नुन बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तैनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै आए । राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न । न त क्रान्तिले आगो बाल्छ । आगो बाल्न त सानो भए पनि आगाकै झिल्को चाहिन्छ । एउटा विद्वान्का लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो । त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिठ्ठा हो । यो सत्य नबुझेर जब नेताको बोली, वचन व्यवहार नै मूर्खको कोटिमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ । 
कुनै ठाउँमा चार मूर्ख रहेछन् । उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा गाडी पनि इन्धन भर्न आएनछ । किन भनेर खोज्दै लाँदा थाहा भयो– ‘उनीहरूले एकतलामाथि पम्प खोलेका रहेछन् ।’ लौ भएन भनेर त्यही ठाउँ रेष्टुरेन्ट खोलेछन् ।

तैपनि, चरोमुसो छिरेनछ । उनीहरूले रेस्टुरेण्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै बिर्सिएछन् । अन्तिम विकल्पस्वरूप ती मूर्खले ट्याक्सी किनेछन् । ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारै जना शहर पसे । तर, ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने हिम्मत नै गरेनन् । नेपालका राजनीतिक क्रान्ति यिनै मूर्खहरूको व्यवसायजस्तै बन्यो । कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताले सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे । जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची शुरु भयो । गाडी एउटा छ, दाबी सबैको । गाडी कसको हो, कसैलाई थाहा छैन । अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो । ३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । आज देश भागशान्ति जयनेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो ।

अरू हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन । नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो । बाटो नभएको ठाउँमा पाइतालाको डोब छाड्ने नेता कहिल्यै मर्दैन । अब्राहम लिंकनलाई सोधियो– ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयो ?’ उनले मुस्कुराएर जवाफ दिए– ‘मैले पाइला–पाइलामा आफ्नै परीक्षा लिएँ । हरेक असफलताबाट केही सिकें । त्रुटि सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ । सफलताको सूत्र पुस्तकमा नभई मिहिनेतमा हुन्छ भन्ने सत्य आत्मसात् गरें ।’

सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन । पागलपन र वैराग्यले मात्र विकास सम्भव छ । त्यसैले नेतागणहरू चटके हैन, पागल बन्नुस् । देश चलाउने योग्यता के हो ? पारखीहरू भन्छन्– ‘खाँटी कूटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झँदैन ।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरू इतिहासका प्रहसन पात्र भए । सन् १६०० मा गणितज्ञ एवं खगोलविद् जर्दानो ब्रुनोले पृथ्वीबाहिर जीवन हुन सक्ने नवीन विचार ल्याए । उनलाई धर्मको खिलाफ बोलेको भन्दै रोमको मध्य शहरमा जिउँदै जलाइयो । मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने कुरा गर्दा क्रिष्टोफर पागल बनाइए । यस्तै चाल्र्स डार्विनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो । ओरविल राइट र विल्वर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले समेत उडाउनु उडाए । डिज्नेल्याण्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागल भन्दै आलोचना गरे । विना तार सूचनाको एजेण्डा ल्याउने मार्कोनीको खेदो खनेर त्यो बेलाको समाज वर्षौं थाकेन । हो, यस्तै पागल बन्ने पालो हाम्रोचाहिँ कहिले हो ?

 भगवान्ले त भगवान्को विशेषण पाउन थुप्रै अग्निपरीक्षा पास गर्नुपर्छ भने मानिसको के कुरा ? विश्वका प्रख्यात संगीतज्ञ मोजार्टसँग बाल्ने दाउरा थिएन, न त लगाउने न्यानो कपडा नै । यहाँसम्म कि खुट्टाको मोजा हातमा लगाएर संगीत सिर्जना गर्थे । खान नपाएर कलिलो उमेरमै कुपोषणले बितेका मोजार्टले छोटो समयमै आफूलाई विश्वमै अमर बनाए । चार्ली च्याप्लिनले बाउ–आमाले छाडेर गएपछि सडकमा मागेर प्राण धाने । कालान्तरमा विश्वविख्यात हाँस्यकलाकारको ख्याति यिनको नामसँगै जोडियो । असह्य दुःखको पीडा खप्न नसकी विश्वप्रसिद्ध लेखक म्याक्सिम गोर्कीले आफ्नो ज्यान आफैंले लिए । यत्तिका पीडाका शूलबीच पनि मानिसले अमरत्वको झण्डा गाडेका छन् । पीडालाई पनि आफूमाथि हावी हुन नदिएर यति सुन्दर जीवनको सूत्र फेला पारेका छन् भने हामी दुःखको लेस नपाएकाहरूलाई कर्मको यज्ञ गर्न केले छेकेको छ ?

 परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । जाँगर भएको मानिसले माहुरीको चाकाबाट नभएर झारपातबाट पनि मह बनाउन सक्छ । यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ । जन्मिँदाको खाट र मर्दाको घाट अलग छ । कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी हुन्छ । वास्तवमा आफ्नो को हो ? त्यो देखाउने हक समयलाई मात्र छ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन । उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि छोडिदिन्छ । कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ । सत्य नबुझी अनुमान गर्नु दुःखी हुनुको प्रमुख कारण हो । कोही कसैको पछि, न अघि नै लाग्न जरुरी छ । नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरूले विश्वास गरिदिएनन् भने हालत के हुन्छ ? त्यसैले यात्रा समदूरीमा गरेर साथी बन्नुस् । बाटो हिँड्दा प्रकाश भेट्नुभएको छैन भने आफैं बत्ती भइदिनुस् । आस्थाले बालिएको दियो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु तपाईंभित्रको आयतन खुम्चनु हो । एउटा असल र कर्मशील नेताले मात्र आशा, कल्पना र विश्वासको त्रिवेणी निर्माण गर्न सक्छ । मुखमा फिँँज निकालेर अन्टसन्ट बोल्ने काम त रत्नपार्कमा ओखती बेच्नेले पनि गर्छ । 

टिप्पणीहरू