हिन्दीमा भाषण गर्दै माधव नेपालले भन्नुभयो – एमालेले भत्तामा नक्कली कुरा गर्यो !

हिन्दीमा भाषण गर्दै माधव नेपालले भन्नुभयो – एमालेले भत्तामा नक्कली कुरा गर्यो !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताका विषयमा नेकपा एमालेले नक्कली कुरा गर्दै हिँडेको दाबी गर्नुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा आज कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले बृद्ध, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता दिन शुरु गरेकाले अरुका दाबी नक्कली भएको बताउनुभयो । एमालेतर्फ इंकित गर्दै उहाँले यस्तो भन्नुभएको हो ।

तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरु गरेको बृद्ध भत्ता वितरण कार्यक्रमलाई एमालेले आफूले गरेको अहिलेसम्मकै उत्कृष्ट कामका रुपमा प्रचार गर्ने गरेको छ । हरेक निर्वाचनमा यसैलाई नारा बनाएर एमालेले भोट माग्ने गरेको छ । तर, त्यतिबेला एमाले महासचिव रहनुभएका नेपालले भने आफ्नो पहलमा भत्ता दिन शुरु भएको बताउने गर्नुभएको छ । उहाँले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने दाबीसमेत गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले कपिलवस्तुमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने उहाँको भनाइ छ । ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाउनुभएको थियो । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा स्थानीय नेता डा. मन्जुर खाँ, अब्दुल हक कार्यकर्तासहित एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । डा. खाँलाई स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको नगरप्रमुख पदमा टिकट दिने गरी प्रवेश गराएको अनुमान गरिएको छ । डा. खाँ २०६४ सालको संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

टिप्पणीहरू