बारको चुनावमा गठबन्धन सर्लक्कै अगाडि

बारको चुनावमा गठबन्धन सर्लक्कै अगाडि

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ । जसमा सत्तारुढ गठबन्धन निकट वकिलहरुको साझा गठबन्धनले शुरुआति अग्रता लिएको छ ।

१२ सय मत गणना हुँदा अध्यक्षका प्रत्याशी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरले ७७७ मतसहित अग्रता लिएका छन् । उनका निकटम प्रतिस्पर्धी एमाले सम्बद्ध प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीले ३७२ मत पाएका छन् । जम्मा १२ सय मत गणना हुँदा गठबन्धन उम्मेदवार घिमिरेले ४०५ मतले अग्रता लिएका हुन् ।

त्यस्तै, महासचिवमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता बनाएका छन् । माओवादी केन्द्र निकट आरपीएलएबाट महासचिवको उम्मेदवार बनेकी अञ्जिता खनाल ६९७ मत पाउँदा पिपिएलएका केदार प्रसाद कोइरालाले ४४३ मत पाएका छन् ।

त्यसैगरी सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सबै गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश १ बाट उपाध्यक्षको उम्मेदवार बनेका डिएलएका सुरज खत्रीले ७८१ मत ल्याउँदा पिपिएलएका रोहितकुमार डाँगीले ३०१ मत पाएका छन् । मधेस प्रदेशका डिएलए उम्मेदवार सुधिरकुमार कर्णले ७९५ मत पाएर अग्रता हासिल गर्दा पिपिएलएका केशवप्रसाद दासले ३६० मत पाएका छन् ।

यता, वाग्मतीमा एकीकृत समाजवादी निकट एसपिएलका उम्मेदवार हर्कबहादुर राउतले ७९२ मतसहित अग्रता बनाउँदा पिपिएलएका डिल्लीराम मैनालीले ३४९ भोट पाएका छन् । गण्डकीमा डिएलएका वीरेन्द्र केसीले ७६१ मत ल्याएका छन् भने पिपिएलका भुपेन्द्र खनालले ३९३ पाएका छन् ।

लुम्बिनीमा आरपिएलका पशुपति भण्डारी ७५९ मतसहित अगाडि हुँदा पिपिएलका बासुदेव ज्ञवालीले ३९८ भोट पाएका छन् । कर्णालीमा पनि डिएलएका उत्तमप्रसाद आचार्यले ७६८ मत ल्यार अग्रता लिएका छन् भने सुदूरपश्चिमबाट आरपिएलएका तुलाराम गिरीले ७९५ मत पाएका छन् । दुवै प्रदेशमा पिपिएलएका उम्मेदवारले क्रमशः ३८२ र ३५० मत पाएका छन् ।

कोषाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । डिएलएका तर्फबाट कोषाध्यक्षको उम्मेदवार रहेका भारतबहादुर राउतले ७५३ मत पाउँदा पिपिएलएका जगतबहादुर कार्कीले ३९२ भोट ल्याएका छन् ।

बारको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते काठमाडौंसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा ल्याएर आज बिहानदेखि गणना शुरु भएको हो । ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए ।

टिप्पणीहरू