आजै राजदूत नियुक्तिको निर्णय,भोलिदेखि आचारसंहिता
हिजो अपरान्ह ५ बजे बहादुर भवनबाट निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पाँचै जना आयुक्त सोझै बालुवाटार गए । प्रधानमन्त्रीको तर्फबाट बिहानै भेटघाटको लागि खबर गएपछि उनीहरु त्यता गएको आयोग स्रोतले बताएको छ ।
भोलि चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी थाहा पाएर सरकारले त्यसलाई केही दिन ढिलो गर्न अनुरोधका निम्ति बालुवाटार बोलाएको बुझिएको छ ।
आयोगले भोलि शुक्रबार २ बजे बहादुर भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता लागु भएको जानकारी गराउने तयारी छ । तर हिजो बिहान ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै बालुवाटारबाट खबर गएपछि आयोग पदाधिकारीहरु बाध्य भएर त्यता गएका हुन् ।
प्रधानमन्त्रीले भेटघाटको लागि बोलाउनुभएको भनेर निम्तो गरे पनि बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मालगायतका मन्त्रीलाई देखेपछि आयोगका पदाधिकारी झसङ्ग भएको एक जना आयुक्तले बताए । उनले भने, ‘सरकारले गर्ने कतिपय नियुक्तिको निर्णय भ्यागुताको धार्नी भएकाले आचारसंहितालाई केही दिन धकेल्न खोजिएको हो । विशेषगरी दुई जना मन्त्रीले त्यस्तो भूमिका बाँधे पनि प्रधानमन्त्रीले केही भन्नुभएन । हाम्रो कुरा सुनिरहनुभयो ।’
यता बालुवाटार र खुमलटारले भने राजदूत नियुक्तिको कुरो नमिलेपछि आचारसंहिता रोक्न आयोगलाई अनुरोध गर्ने भनेबमोजिम हिजो साँझको भेटघाट मिलाइएको बुझिएको छ । तर आयोगले आन्तरिक रुपमा भोलिदेखि आचारसंहिता लागु गर्ने मिति यसअघि नै तय गरिसकेको थियो । सोहीअनुसार तयारी पनि भएको हो ।
“आचारसंहितासम्बन्धी प्रतिबद्धतामा एमालेले किन दस्तखत नगरेको ? भनेर सोधिएको थियो । तर आयोगका एक जना आयुक्तले ‘एमाले मात्रै होइन,अरु कुनै पनि पार्टीलेसमेत सही नगरे पनि लागु हुन्छ’ भनेर जवाफ दिएका थिए ।
आयोगका पदाधिकारीले आचारसंहिताको मिति कुनै हालतमा पछि सार्न नसकिने अडान लिएपछि सरकारले सम्भवतः आज साँझ वा भोलि बिहानसम्म राजदूत र अन्य राजनीतिक नियुक्ति को निर्णय गर्ने सम्भावना बढेको हो । सरकारलाई सहयोग गर्ने उद्देश्यसहित आयोगका पदाधिकारीहरुले हिजो बालुवाटारमा भोलि दिउँसो २ बजेभित्र क्याबिनेट बैठकबाट सबै निर्णय गरे भइहाल्यो नि भनेर सुझाव दिएका थिए । बरु पत्रकार सम्मेलन साँझ ५ बजेसम्म सार्न सकिने तर शुक्रवार र शनिवारसम्म मिति धकेल्न नसकिने भन्ने आयोगको भनाइपछि गृहमन्त्री र अर्थमन्त्रीले मुखामुख गरेको बताइन्छ ।
एउटा प्रसंगमा गृहमन्त्रीले आगामी बैशाखमा राखिएको तालिकाबमोजिम उम्मेदवारीपछि मात्र आचारसंहिता लागु गर्ने कि ! भनेर जिज्ञासा राखेको बताइन्छ । त्यसैगरी अर्थमन्त्रीले सकिँदैन भने चैतसम्म धकेलौं न भनेको आयोग स्रोतको दाबी छ । तर सरकार पक्षको उक्त भनाइमा आयोगका पदाधिकारीहरु टसको मस नभएपछि छलफल सकिएको थियो ।
हिजोको भेटघाटमा आयोगको निर्वाचन आचारसंहितासम्बन्धी प्रतिबद्धतामा एमालेले किन दस्तखत नगरेको ? भनेर सोधिएको थियो । तर आयोगका एक जना आयुक्तले ‘एमाले मात्रै होइन,अरु कुनै पनि पार्टीलेसमेत सही नगरे पनि लागु हुन्छ’ भनेर जवाफ दिएका थिए ।
आयोगका एक जना अधिकारीले भने, ‘ठूला दल र सरकारले आचारसंहिता लागु गर्ने मिति ढिलो बनाउन दबाब दिएका छन् । तर साना दलले आयोगलाई निचोरिरहेका छन् ।’
आयोगले यसबीच सबै राजनीतिक दललाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । तर एमालेले अहिलेसम्म गरेको छैन । उनै अधिकारीले भने, ‘उसलाई पनि आऊ भनिएको छ । तर नआए पनि केही हुँदैन । मुलुकको कानुन लागु गर्न कसैलाई दस्तखत गराउन पर्छ र ? यो विगतदेखिको प्रचलनलाई कार्यान्वयन गरिएको मात्रै हो ।’
टिप्पणीहरू