खोप कार्ड बेचेर दाम कमाउन एक जनाले लगाए ९० डोज खोप

खोप कार्ड बेचेर दाम कमाउन एक जनाले लगाए ९० डोज खोप

पैसाका लागि मान्छेले केसम्म गर्दैन ? आइफोन किन्न आफ्नै शरीरका अंग बेच्नेहरु पनि यहि दुनियाँमा छन् । जर्मनीका एक व्यक्तिले दाम कमाउन त्यस्तै अनौठो हर्कत गरेको पाइएको छ । ६१ वर्षीय ती पुरुषले खोप कार्ड बेचेर पैसा कमाउनका कोभिडको ९० डोज लगाएका हुन् ।

उनले खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन यस्तो गरेको बताइएको छ । नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए । खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए ।

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती बृद्धले दिनमा तीनपटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका हुन् । फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन ।

खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ,खाली खोप कागजात लैजाने गर्थे । खोप लगाएपछि ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाई खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए । खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो ।

टिप्पणीहरू