विप्लव चुनावमा जाने कुन हो वीचको बाटो ?

विप्लव चुनावमा जाने कुन हो वीचको बाटो ?

निर्वाचनमा सीधै सहभागी नहुने केन्द्रीय कमिटी बैठकको निर्णयको मसी नसुक्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु ‘वीचको बाटो’ खोजेर बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । दल दर्ता, मतदाता नामावलीलगायत चुनावी प्रक्रियाका बारेमा सोधखोज गर्न विप्लव समूहका प्रवक्ता खडकबहादुर विश्वकर्मा आज बहादुर भवन पुगेका हुन् ।

एकजना सहयोगीसहित आयोग कार्यालय पुगेका विश्वकर्माले प्रमुख आयुक्त दिनेश थपलियालाई पनि भेटेका थिए । आयोग स्रोतका अनुसार करिब २५ मीनेट त्यहाँ रहेका उनले दल दर्ता शाखामा गएर चुनावमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको बताइन्छ ।

आफ्नो पार्टी पनि चुनावमा जान इच्छुक रहेकाले दल दर्ता र मतदाता नामावली संकलनका लागि समय थपिदिन विश्वकर्माले अनुरोध गरेका थिए । आफ्ना कार्यकर्ता अहिले पनि थुनामै रहेको र अधिकांशको मतदाता नामावलीमा नाम नरहेकाले के गर्न सकिन्छ भनेर उनले चासो राखेका हुन् ।

तर,आयोगले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेकाले अब दल दर्ता,मतदाता नामावली संकलन लगायतका काम गर्न नसकिने जवाफ दिएको बुझिएको छ ।

क्रान्ति गर्न भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत माओवादीबाट फुटेर छुट्टै पार्टी गठन गरेको विप्लव समूहले ०६४ को पहिलो संविधानसभा निर्वाचनपछिका सबै चुनाव बहिष्कार गर्दै आएको छ । जसका कारण उनीहरुले आयोगमा दल दर्ता पनि गरेका छैनन् । आयोगमा नाम दर्ता नहुँदा चुनावमा भाग लिन अप्ठेरो छ ।

कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले निर्वाचनमा सोझै भाग नलिने र बहिष्कार पनि नगर्ने वीचको निर्णय गरेको थियो । चुनावमा जाने नीतिसहित विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव अल्पमतमा परेपछि पार्टी विभाजनबाट रोक्न गरिएको टालटुले निर्णयको नेताहरु काठमाडौँ फर्केलगत्तै आ-आफ्ना अनुकूल व्याख्या गरिएको छ ।

विप्लव र विश्वकर्मासहित संस्थापनपक्षीय नेताहरु चुनावमा भाग लिने गरी आन्तरिक तयारीमा जुटेका छन् । उनीहरुले अस्ति सुदूरपश्चिम प्रदेशमा चुनावी तालमेलबारे एमालेसँग एक चरण छलफलसमेत गरिसकेको बताइन्छ ।

तर,कपिलवस्तु वैठकले भने कतिपय ठाउँमा आफ्नो तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने र उम्मेदवार हुनेहरुले पार्टीबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । साथै,पार्टीको प्रभाव नरहेका ठाउँमा एमसीसी विरोधी मोर्चामा रहेका देशभक्त र प्रगतिशील उम्मेदवारलाई सघाउने निर्णय पनि भएको थियो ।

यहि निर्णयमा टेकेर विप्लव र प्रकाण्ड एमालेसँग तालमेलका लागि प्रयासरत रहँदा हाइकमाण्डका अरु दुई नेता धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली भने त्यसको विरुद्धमा छन् । पार्टी औपचारिक रुपमा चुनावमा जान नहुने र एमालेसँग तालमेल गर्न नसकिने उनीहरुको अडान छ ।

यहि बिबादका बीच विश्वकर्मा सुटुक्क निर्वाचन आयोग छिरेपछि विप्लव समूह के हुने हो बुझ्न गाह्रो भएको छ । केन्द्रीय कमिटीको निर्णयविपरित चुनावमा जाने केही नेताको तयारीप्रति विप्लव समूहका एकजना उपल्लो तहका नेताले असन्तुष्टि जनाए ।

कपिलवस्तु बैठकमै आफ्नो प्रतिवेदन हुबहु पारित गराउने प्रयास असफल भएपछि अहिले ‘चोर बाटो’ बाट चुनावमा जान खोजिएको भन्दै उनले त्यसो हुँदा पार्टीमा बिद्रोह हुनसक्ने चेतावनी दिए ।

टिप्पणीहरू