रोल्पामा माओवादीलाई अझै सकस,एमाले थोरै उत्साहित
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलका नेताहरू गाउँ–गाउँ चुनावी तयारीमा जुटेका छन् । आ–आफ्नो पालिकामा अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षको टिकट हात पार्ने होडबाजी पनि शुरू भइसकेको छ ।
माडी (रोल्पा) गाउँपालिकाको अध्यक्षका आकांक्षीहरू हप्ता दिनयता खुल्न थालेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र ‘एमाले–कांग्रेस’ गठबन्धनबीच प्रतिस्पर्धा थियो ।
गाउँपालिकामा दुईदलीय गठबन्धन हुँदा पनि माओवादीले नै जित हात पारेको थियो । त्यो बेला माओवादी नेता नन्दबहादुर पुन मगरले तीन हजार एक सय ८२ र गठबन्धनका गोपाल घर्तीमगरले दुई हजार छ सय २१ मत प्राप्त गरेका थिए ।
माओवादीले २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेर पालिकाको प्रतिनिधित्व गरिरहेको छ । गत निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेर ओझेलमा परेको एमाले यस पटक भने एक्लै प्रतिस्पर्धा गर्दैछ ।
एमालेबाट जिल्ला उपाध्यक्ष विजयकुमार घर्तीमगर र प्रदेश सदस्य प्रेम घर्तीमगरको नाम चर्चामा छ । यीमध्ये अघिल्लो निर्वाचनमा प्रेम घर्तीमगर गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेर पराजित भएका हुन् । तर विजय भने माओवादीमै थिए ।
विजय र प्रेम गाउँपालिकाभित्र अन्य नेताहरूको तुलनामा लोकप्रिय देखिन्छन् । उनीहरूलाई स्थानीयले हक्की स्वभाव र स्वच्च छविका मान्छन् ।
आगामी निर्वाचनमा जनताको इच्छाअनुसार दुईमध्ये एक जनालाई पार्टीले अध्यक्ष पदमा उठाउने छ । माडीमा एकीकृत समाजवादीको केही प्रभाव रहे पनि गाउँमा एमालेकै प्रभाव रहेको विश्लेषण गर्न थालिएको छ ।
पार्टी एकतापछि थुप्रै पूर्वमाओवादी नेता–कार्यकर्ता एमालेमै रहेको नेताहरूको दाबी छ । काँग्रेसबाट अध्यक्षको दाबेदार गोपाल घर्तीमगर मात्रै देखिएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अध्यक्ष पदमा लडेका उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए ।
उक्त गाउँपालिका काँग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगरको पनि गृह पालिका हो । माओवादीबाट जितेका जनप्रतिनिधिले पाँच वर्षसम्म गरेको कार्यशैलीबाट आजित भएका भनिएका गाउँवासीले विकल्प चाहेको एमाले–काँग्रेसको दाबी छ ।
यता,माओवादी केन्द्रबाट अध्यक्षका आकांक्षी दुईजना देखिएका छन् । जसमा अहिलेका अध्यक्ष नन्दबहादुर पुन मगर र माओवादी माडीका अध्यक्ष अमरसिंह घर्तीमगर हुन् । यसमा पनि नन्दबहादुरको चर्चा बढी छ । जिल्लाका प्रभावशाली नेता दिपेन्द्र पुन निकट उनी फेरि दोहोरिने सम्भावना बढेको हो ।
नेकपा (एकीकृत समाजवादी) बाट हरिप्रसाद घर्तीमगर पनि अध्यक्षको चर्चामा छन् । उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हुन् । एकीकृत समाजवादी बन्नुअघि एमाले रोल्पाको नेतृत्व गरिसकेका हरिप्रसाद आगामी निर्वाचनमा अध्यक्ष भएर काम गर्ने सोचमा रहेको बताइन्छ ।
माडीमा गठबन्धन गरेर गएमा आफ्नो पार्टीलाई फाइदा हुने बताउँछन् । पार्टीले केन्द्रबाटै वार्ता गरेर गठबन्धन गरेमा पनि आफूहरू त्यसमा सहमत हुने उनको भनाइ छ । अन्यथा गठबन्धन नभएमा एक्लै जित्न सक्ने उनको दाबी छ
टिप्पणीहरू