आगामी चुनावको यस्तो आयो आकलन
गत आम निर्वाचनमा काँग्रेसभन्दा लगभग ७५ हजार बढी समानुपातिक भोट पाएको नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ८० सिट जित्यो । एमालेकै हाराहारीमा लोकप्रिय मत पाएर पनि काँग्रेसले प्रत्यक्षतिर भने २३ सिटमा खुम्चिनु परेको हो । माओवादीसँग गठबन्धन गरेर जम्मा १२० ठाउँमा उम्मेदवारी दिएको एमालेले ८० सिट जित्दा १६५ क्षेत्रमै उम्मेदवारी दिएको काँग्रेसले मात्र २३ सिट जितेको थियो । जबकि समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४९४ मत ल्याउँदा कांग्रेसले ३१ लाख २८ हजार ३८९ पाएको थियो । चुनावमा गठबन्धन हुँदा र नहुँदा आउने सम्भावित परिणामको यो एउटा सानो झलक हो ।
०५६ सालको निर्वाचनमा ठूलो शक्तिसहित एमालेबाट विभाजित मालेले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । तर आजभन्दा २२ बर्षअगाडि उसले देशभरबाट पाएको ६ लाख मत चानचुने थिएन । यो तथ्य यहाँ किन पेश गरिएको हो भने समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले मत प्राप्त गर्नु र प्रत्यक्षतर्फ सबैभन्दा बढी भोट ल्याएर जित्नु फरक कुरा हो । कुनै पार्टी सांगठनिक हिसाबले कति मजबुत छ र जनतामा उसको लोकप्रियता मापनको आधार समानुपातिक मतलाई लिन सकिन्छ । तर, प्रत्यक्षमा जित्नु भनेको ट्याक्टिकल कुरा पनि हो ।
संघ र प्रदेशमाजस्तो स्थानीय तहमा समानुपातिक निर्वाचन प्रणाली छैन । त्यहाँ ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन पध्दतिका आधारमा जनप्रतिनिधि आउँछन् । जसका कारण कुनै राजनीतिक दलले राम्रो लोकप्रिय मत पाएर पनि चुनावी परिणाम उसको पक्षमा नहुन सक्छ । यो निर्वाचन पध्दतिमा पाँच हजार मत अन्तरले जित्नु र एक मत बढी ल्याएर जित्नु एकै हो । त्यतिबेला पराजित उम्मेदवारले प्राप्त गरेको मतको कुनै अर्थ हुँदैन ।
यो पृष्ठभूमिमा आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा दलहरुले अहिले गरेका दाबी स्वीकृत होलान् कि अस्वीकृत ? गत चुनावको मत परिणाम, अहिलेको राजनीतिक जोड–घटाउ र दलहरुको अवस्थालाई नियाल्दा एकल प्रतिष्पर्धा हुँदा र गठबन्धन बन्दा आउने परिणाम फरक हुने देखिन्छ । चुनाव नजिकिंदै जाँदा गठबन्धनका प्रयासहरु भैरहेका छन् । सत्तारुढ पाँच दल चुनावी तालमेल गर्ने सैध्दान्तिक निर्णयका साथ छलफलमा छन् भने एक्लै चुनाव लड्ने घोषणा गरेको एमाले पनि राप्रपालगायतका दलहरुसँग तालमेलका लागि वार्ता गरिरहेको छ ।
एकपटक विगतको परिणाम हेरौँ
गत २०७४ सालको स्थानीय निर्वाचनमा २९३ तह जितेर एमाले पहिलो दल बनेको थियो । २६६ तह जितेको काँग्रेस दोस्रो र १०६ स्थानमा नेतृत्व पाएको माओवादी तेस्रो भएको थियो । त्यतिबेलाको मत परिणाम हेर्दा अधिकांश स्थानीय तहमा विजयी हुने उम्मेदवारले झिनो मत अन्तर राखेका थिए ।
जस्तोः नुवाकोटको बेल्कोटगढी नगरपालिकामा एमाले उम्मेदवार राजेन्द्ररमण खनाल ६ हजार ६४३ मतसहित बिजयी हुँदा माओवादी केन्द्रका जगतबहादुर गुरुङले ६ हजार ३५१ मत ल्याएर दोस्रो भएका थिए । तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार यादवप्रसाद नेपालले ४ हजार ९४२ मत पाए ।
सिन्धुलीको दुधौली नगरपालिका पनि एमालेले नै जितेको हो । एमालेका घनश्याम राउतले ८ हजार ५९८ मत ल्याउँदा माओवादी केन्द्रका दिनेश अधिकारीले ८ हजार २२३ भोट पाए । त्यहाँ कांग्रेसकी गङ्गा दाहालले ७ हजार ९०० भोट पाएकी थिइन् ।
त्यस्तै, बैतडीको दिलासैना गाउँपालिकामा पनि एमाले उम्मेदवार विजयी भए । तर, त्यहाँ मतान्तर भने निकै कम थियो । एमालेका उकेन्द्रबहादुर बोहोराले २ हजार ६ सय ६३ मत पाएर अध्यक्ष जित्दा निकटतम प्रतिद्वन्द्वी काँगेसका कर्णबहादुर रानाले २ हजार २ सय ५२ भोट ल्याए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्रबहादुर रानाले २ हजार १ सय ५० भोट पाए । बाराको कोल्हवी नगरपालिकामा एमालेका भरतबहादुर भण्डारी ७ हजार ४ सय १ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार मुरलीधरप्रसाद चौधरी झिनो मतले पराजित भए । चौधरीले ७ हजार २ सय ५ भोट पाउँदा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवारले १ हजार ७ सय ५१ भोट ल्याएका थिए ।
काठमाडौँ महानगरकै मत विश्लेषण गर्दा त्यहाँ एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत पाएर जितेका थिए । राप्रपा नेपालसँग तालमेल गरेको एमालेले उपमेयरमा उम्मेदवार उठाएको थिएन । तर, गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले उपमेयर जित्यो । मेयरमा कांग्रेसका राजुराज जोशीले शाक्यले भन्दा झण्डै १९ हजार कम अर्थात् ४५ हजार २६९ मत पाएका थिए ।
काठमाडौँमा माओवादीको अवस्था तुलनात्मक रुपमा कमजोर छ । पहिलो पटक चुनावी प्रतिष्पर्धामा होमिन लागेको एकीकृत समाजवादीको मत अनुमान गर्न अप्ठेरो छ । यद्यपि एमालेबाट जितेका महानगरका ३ वडाध्यक्ष, प्रदेशका सांसदसहित संघीय सांसद जीवनराम श्रेष्ठले एकीकृत समाजवादी रोजेका कारण काठमाडौँमा समाजवादी राम्रै मत काट्न पर्याप्त छ । अर्कोतर्फ गत चुनावमा २३ हजार ४३९ मत ल्याएर तेस्रो भएकी रञ्जु दर्शना अहिले विवेकशील पार्टीमा छैनन् । यसका अलावा ठूलो संख्यामा नयाँ मतदातासमेत थपिएकाले काठमाडौँको चुनावी परिणामवारे लेखाजोखा गर्न अहिले कठिन छ । तथापि एमालेले सहजै जित्न सक्ने ठानिएको काठमाडौँमा पाँचदलीय गठबन्धन कायम हुँदा परिणाम उल्टन सक्ने देखिन्छ ।
केपी ओलीको गृहजिल्ला झापामा पनि एमाले पहिलो पार्टी बनेको छ । १५ वटा स्थानीय तह रहेको झापाका अर्जुनधारा नगरपालिका, कन्काई, दमक, भद्रपुर, बिर्तामोड, शिवसतासी नगरपालिका र कमल गाउँपालिकामा एमाले उम्मेदवारले प्रमुख÷अध्यक्ष जितेका थिए । तर, एमालेले जितेका स्थानीय तहमा कांग्रेस र राप्रपाले प्रतिस्पर्धी मत ल्याएका छन् । कमल गाउँपालिकामा कांग्रेस र एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट एमालेकी उम्मेदवार मेनुका काफ्ले विजयी भएकी थिइन् । त्यहाँ कांग्रेसका हुकुमसिंह राईले काफ्लेको बराबर ८ हजार २ सय ७५ भोट ल्याएका थिए ।
अर्जुनधारामा एमाले उम्मेदवार हरिकुमार राना मगरले १३ हजार ८७९ मत ल्याउँदा कांग्रेसका हेमप्रकाश खरेलले ९ हजार ६४१ भोट पाएका थिए । तेस्रो भएका माओवादीका भुपेन्द्र न्यौपानेले २ हजार ५०६ भोट ल्याए । झापामा राप्रपासमेत बलियो छ । कचनाकवल, गौरीगञ्ज र हल्दिबारी गाउँपालिकामा उसले अध्यक्ष जितेको छ ।
यो त भयो गत चुनावको मत परिणाम । तर, पछिल्लो पाँच वर्षमा राष्ट्रिय राजनीतिमा ठूलो उथलपुथल आइसकेको छ । एमाले–माओवादी एकता हुँदै नेकपा गठनदेखि एमाले विभाजन भएको छ । पाँचदलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर उभिएको छ । यो परिस्थितिमा एमालेलाई आफ्नो पुरानै वर्चस्व कायम गराउन सजिलो छैन । एमाले विभाजनको कम प्रभाव परेको ठानिएको प्रदेश १ मा त यो अवस्था छ भने मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुरानै नतिजा दोहो¥याउन एमालेलाई सजिलो छैन ।
टिप्पणीहरू