राष्ट्र बैंकबाट कसले मागे ३० हजार डलर घुस ? (भिडियाेसहित)

राष्ट्र बैंकबाट कसले मागे ३० हजार डलर घुस ? (भिडियाेसहित)

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका एक जना सञ्चालकले ३० हजार अमेरिकी डलर अर्थात ३६ लाख नेपाली रुपैयाँ घुस मागेको बताउनुभएको छ । बैंकले आज राजधानीमा आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै उहाँले उक्त रहस्य खोल्नुभएको हो ।

मन्त्री शर्माले रकम र बार्गेनिङको ठोकुवा गरे पनि सञ्चालक समिति सदस्यको नाम उल्लेख गर्नुभएको छैन । गभर्नर,डेपुटीहरु र सञ्चालक समितिका सदस्यलगायत कार्यकारी निर्देशक र निर्देशकहरु सबै सहभागी कार्यक्रममा उक्त कुरो छरपस्ट पारिएको हो ।

उहाँले उक्त रहस्य खोल्दै भन्नुभएको छ, ‘एक जना सञ्चालकले ३० हजार अमेरिकी डलर मागेका छन् । बैंकका महत्वपूर्ण कागजात मिडियामा छरपस्ट पार्न दिइएको छ । यसरी पनि हुन्छ ?’

राष्ट्र बैंकको नेतृत्वप्रति आक्रामक ढंगले प्रस्तुत हुनुभएका उहाँले हालै सार्वजनिक भएको ४० करोड रुपैयाँ ‘रिलिज’ सम्बन्धी काण्डमा आफ्नो नाम मुछिएको विषयलाई इंगित गर्नुभएको बैंकका अधिकारीहरुले बताएका छन् ।

अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको स्रोत नखुलेको उक्त रकम रिलिज गरिदिन आफूले नभएर बैंकका एक जना बोर्ड सदस्यले नै बार्गेनिङ गरेको कुरो सार्वजनिक भएपछि उक्त विषय थप पेचिलो भएको छ ।

“कैफियत देखिएपछि बैंकको नियमन विभागले पुस महिनाभित्र वार्षिक साधारण सभा गर्न दिनुपर्ने स्वीकृति रोक्दा पनि ती पदाधिकारीले ‘पख म मिलाउँछु’ भनेर रोकेका थिए । “

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ,बैंक सुपरीवेक्षण विभागको विशेष निरीक्षण,नियमन विभागको विशेष अध्ययन र विदेशी विनिमय व्यवस्था विभागको छुट्टै निरीक्षण र अनुसन्धानबाट उक्त रकमको स्रोत नखुलेको भेटिएको हो ।

त्यसपछि उक्त रकमको थप अध्ययन र छानबिन मुद्रा शुध्दिकरण विभागले गरेपछि अर्थमन्त्री शर्मामार्फत् बैंक नेतृत्वलाई सो रकम फुकुवा गरिदिन दबाब आएको बैंकका एक जना उच्च अधिकारीले जनआस्थासँगको कुराकानीमा बताएका छन् ।

‘हाम्रो बैंकलाई मन्त्रीले के भएको हो,हेरिदिनुस् भन्नुभएको होइन । त्यो रकम रिलिज गरिदिनुस् भन्नुभएको हो । अहिले अप्ठेरो पर्दै गएपछि उहाँले आफूलाई साखुल्य देखाउन राष्ट्र बैंकको सञ्चालक समितितिर दोष पन्छाउन खोज्नुभएको हो,’ उनै अधिकारीले भने ।

यता, बैंकका अधिकारीहरुले भने सञ्चालक समिति सदस्यले नभएर एक जना डेपुटी गभर्नरले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री शर्मासँग ‘चोचोमोचो’ मिलाउँदै रकम रिलिज गर्न वचन दिएको आशंका गरेका छन् । गत असारमा सरकार परिवर्तनलगत्तै क्याम्प चेञ्ज गरेका ती पदाधिकारीले वर्तमान सरकारसँग साखुल्य बन्न उक्त हर्कत गरेको हुनसक्ने अधिकारीहरुको आशंका छ ।

एउटा वाणिज्य बैंकको वार्षिक प्रतिवेदनमा कैफियत देखिएपछि बैंकको नियमन विभागले पुस महिनाभित्र वार्षिक साधारण सभा गर्न दिनुपर्ने स्वीकृति रोक्दा पनि ती पदाधिकारीले ‘पख म मिलाउँछु’ भनेर रोकेका थिए । तर, विषय गाँठो पर्दै गएपछि उनले हात उठाउँदा बैंक निकै अप्ठेरोमा परेर हालैमात्र साधारण सभा गर्न बाध्य भएको स्रोतको दाबी छ ।

यता, अर्थमन्त्री शर्माले बैंकिङ सल्लाहकार बनाएर बैंकका कनिष्ठ उपनिर्देशकलाई अर्थ मन्त्रालयमा लगेपछि केन्द्रीय बैंकका अधिकारीहरुले ‘खुट्टी हेर्दै चाल पाइयो’ भनेका कारण पनि मन्त्रीले आज आगो ओकलेको बताइन्छ ।

आगामी बैशाखमा दुई जना सञ्चालकको कार्यकाल सकिँदैछ । एक जना माओवादी र अर्का काँग्रेसको कोटामा सञ्चालक बनेकाले पुनः एक एक जना भागबण्डा गर्नुपर्ने देखिएको हो । अहिले ३० हजार डलरको अफवाह फैलाएर बाँकी अरुलाई पनि हटाई सबै आफ्ना मान्छे भर्न उनले नयाँ रणनीति अघि सारेको एमाले निकट कर्मचारीहरुको बुझाइ छ ।

बैंक सञ्चालक समितिमा गभर्नर महाप्रसाद अधिकारी अध्यक्ष, डेपुटीहरु दुई जना र अर्थ सचिव पदेन सदस्य हुन्छन् । चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्ण एमाले सरकारले नियुक्त गरेका सदस्य हुन् भने माओवादी निकट प्रा.श्रीराम पौडेल र काँग्रेसको कोटामा सदस्य बनेका रामजी रेग्मीको बैशाखदेखि कार्यकाल सकिँदैछ ।

टिप्पणीहरू