विप्लवको पार्टीमा उजुरीका चाङ, कोही बैठक छाड्ने,कोही पार्टी छोड्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आर्थिक अनियमितताका घटनामा नाम मुछिएका नेता-कार्यकर्तामाथि छानविन गर्ने सम्भावना छ । पार्टीका नाममा चन्दा उठाएर आफैँ खाने प्रवृत्ति झाँगिएपछि पछिल्लो केन्द्रीय कमिटी बैठकले पुराना उजुरीसमेत टेबलमा राखेर एक-एक छानविन गर्न लागेको हो ।
पार्टीको नीति र निर्देशनविपरित मुध्दा मामिला मिलाइदिने नाममा नेता-कार्यकर्ताले धनाढ्य ब्यापारीहरुसँग आफूखुशी डिल गर्ने र पैसा उठाएर गोजीमा हाल्ने प्रवृत्ति तीनवर्षे प्रतिवन्धकालमा चर्को रुपमा बढेको थियो । यस्ता अनियमितताका घटनामा जोडिएका तल्ला तहका थुप्रै कार्यकर्ता कारवाहीमा पनि परे । तर,उपल्लो तहका प्रभावशाली नेतामाथि भने छानविनसम्म हुन सकेको छैन । बरु त्यस्ता काण्डमा मुछिएका कतिपय नेता आफैँ पार्टी छोडेर बाहिरिइसकेका छन् ।
पार्टीमा आर्थिक अराजकता सृजना गर्ने अनि प्रश्न उठ्नेबित्तिक्कै भाग्ने क्रम बढेको भन्दै हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा कडिकडाउ कुरा उठेपछि पुराना घटनासमेत छानविन गर्ने निर्णय भएको विप्लव समूहका एक नेताले बताए । आफूमाथि कारवाहीको शंका लागेपछि संरक्षण खोज्दै अर्को पार्टीमा लागेका सबैलाई छानविनमा ल्याइने ती नेताले दाबी गरे ।
तल्लो तहका कार्यकर्तामात्र होइन, राष्ट्रिय राजनीतिमा चिनिएका थुप्रै नेताले पनि विप्लव समूह छाडेका छन् । जसमध्ये अधिकांश आर्थिक घोटालामा मुछिएको विप्लव समूहले दाबी गर्ने गरेको छ । किर्ते चिठी बनाएर पार्टीको नाममा नगद उठाएको आरोप लागेका नेता भीम चापागाईले अलि अगाडि पार्टी छोडेका थिए । तिनै नेताले बताएअनुसार लामो समयदेखि यो विषय पार्टीमा उठेपनि प्रमाणको अभावमा छानविन त्यसै रोकिएको थियो । तर,किर्ते गरिएको पत्रसहित पार्टीमा उजुरी परेपछि छानविन गर्ने निर्णय भयो । लगत्तै चापागाई विप्लव समूह छोडेर राजु कार्की नेतृत्वको पार्टीतिर लागे ।
“किर्ते चिठीसहित उजुरी परेपछि छानविन गर्ने निर्णय भयो । त्यो थाहा पाउनेबित्तिक्कै उनी बाहिरिएका हुन् ।’
‘नक्कली चिठी बनाएको आरोप उहाँमाथि लाग्दै आएको थियो । तर, प्रमाण नहुँदा छानविन अघि बढाउन सकिएको थिएन’, उनी भन्छन्, किर्ते चिठीसहित उजुरी परेपछि छानविन गर्ने निर्णय भयो । त्यो थाहा पाउनेबित्तिक्कै उनी बाहिरिएका हुन् ।’
कपिलवस्तु बैठकले सचिवालय सदस्य हेमन्तप्रकाश वली र शिक्षक नेता गुणराज लोहनीसँग जोडिएका दुई वटा मुध्दा पनि छानविन गर्ने निर्णय गरेको बताइन्छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलको विवादित मुद्दा सल्टाइदिने भन्दै पाँच करोड उठाएर चार करोड झ्वाम पारेको आरोप लाग्दै आएको छ । त्यसलाई लिएर केन्द्रीय सदस्यहरु बैठकमा बेस्सरी चर्किएपछि वलीले भने आफूले रकम नउठाएको प्रष्टीकरण दिएका थिए । उक्त रकम त्यतिबेलाका आफ्ना सहयोगी केदार खतिवडाले लिएको र उनी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीतिर गएकाले रकम पनि उतै पुगेको उनको भनाइ थियो । तथापि बैठकले एक महिनाभित्र केदारबाट रकम फर्काउने निर्णय गरेको छ ।
यो घटनामा समेत जोडिएका वलीनिकट लोहनी चितवनको जग्गा काण्डमा पनि मुछिएको बताइन्छ । पार्टीले कब्जा गरेको जग्गा विवेक शाह नामका व्यक्तिले प्लटिङ्ग गरेपछि चितवन जिल्ला इञ्चार्जका हैसियतमा लोहनी जोडिएको बताइन्छ । स्रोतले बताएअनुसार भरतपुर महानगरपालिकास्थित प्रेमबस्तिको पश्चिमपट्टि कैलाश नगरमा रहेको जग्गा जनयुध्दकै बेला माओवादीले कब्जा गरेको थियो । पछिल्लो समय सो जग्गा विप्लव समूहको नियन्त्रणमा थियो । तर, पार्टीलाई थाहै नपाई एकाएक शाहले प्लटिङ्ग गरेपछि शंकाको सुइ लोहनीतिर गुमेको बताइन्छ ।
यसबारे पनि कपिलवस्तु बैठकमा चर्कै कुरा उठेको थियो । लोहनी भने प्रश्न उठेपछि काठमाडौँमा काम छ भन्दै बैठक चल्दाचल्दै निस्किएको स्रोतको भनाइ छ । केन्द्रीय सल्लाहकारहरु इश्वरी दाहाल असारे काका,चित्रबहादुर आले र गिरिराज पाण्डे पनि बैठक नसकिंदै निस्किएका थिए । आलेको परिवारमा शोक परेकाले वीचमै निस्किएको तर अन्यको हकमा भने कारण नखुलेको बताइएको छ ।
यता,चुनाव उपयोग कि बहिष्कार भन्नेमा उत्पन्न विवाद वीचको बाटो समातेर हल गरेको विप्लव समूहमा फेरि विवाद बल्झिएको छ । न उपयोग न बहिष्कारको नीतिसहितको राजनीतिक प्रस्ताव पारित गरेर कपिलवस्तुबाट उठेको दुई साता नपुग्दै नेताहरुका आ-आफ्ना ब्याख्याले विवाद बल्झिएको हो ।
वैशाख ३० को स्थानीय चुनाव उपयोगको पक्षमा रहेका महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा सोही विषय समेटेका थिए । विप्लव र प्रवक्ता खडकबहादुर विश्वकर्मा चुनावको पक्षमा उभिँदा सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली विपक्षमा थिए । अधिकांश केन्द्रीय सदस्य चुनाव उपयोगको विपक्षमा उभिएपछि विप्लव-विश्वकर्मा अल्पमतमा परे । त्यसपछि पार्टीलाई सम्भावित दुर्घटनाबाट जोगाउने उपायस्वरूप वीचको निर्णय गरेर नेताहरु कपिलवस्तुबाट उठेका थिए ।
तर,चुनावमा जाने तयारीका साथ प्रवक्ता विश्वकर्मा सक्रिय हुन थालेपछि विप्लव समूहमा विवाद बढ्ने अनुमानसमेत गर्न थालिएको छ । निर्वाचन आयोगमा पुगेर दल दर्ता,मतदाता नामावली संकलनलगायत चुनावी प्रक्रियाका बारेमा सोधपुछ गर्न विश्वकर्मा अस्ति आयोग कार्यालय पुगेका थिए। त्यसलाई अर्को पक्षले चुनावमा जाने तयारीका रुपमा बुझेको छ । सचिवालय सदस्य वलीले त सार्वजनिकरुपमै केन्द्रीय कमिटी बैठकको निर्णय विपरित चुनावमा गए पार्टी फुट्ने चेतावनी दिइसकेका छन् ।
विप्लव निकटहरुले भने आर्थिक अनियमितताका घटनामा नाम मुछिएकाहरु छानविन हुने डरले पार्टी छोड्ने तयारीमा रहेको आरोप लगाएको छ । विगतमा पनि अनियमिततामा संलग्नहरुले त्यसैगरी पार्टी छोडेको दृष्टान्त दिने गरिएको छ ।
टिप्पणीहरू