अपराधको ड्राइक्लिनिङ अर्थात् उनी
– नरेन्द्रजंग पिटर
सबैको दिल दिमागका चाल, चरित्र र चित्रको सिटिस्क्यान छर्लंग देखिने चुनाव त सिसाको घरजस्तै हो । ममाथि विश्वास गरे तिमीलाई मुक्ति दिन्छु, पद र ऐश्वर्य दिन्छु भन्दै प्रश्न नगर, जिज्ञासा नतेस्र्याऊ भन्ने यशुको भनाइजस्तै धेरैजसो अन्य पार्टीबाट नेता, कार्यकर्ता भित्र्याइँदै छ । पार्टी फेरेपछि नायक र खलनायकका अर्थ फेरिँदै अपराधीहरू तत्काल साधु बन्छन् । पार्टी परिवर्तन अपराधको ड्राइ क्लिनर्स हो । मान्छेका विश्वास फेरिँदै जाँदा बोली र आचरण पनि फेरक पर्दै जान्छन् । विश्वास बन्ने र भत्कने आधार लोभ र भय हो । पार्टी अछुतो हुने, सोही पार्टीका कार्यकर्ता भने महान हुने अनौठो चलन यहीँ देख्न पाइन्छ ।
यस लेखमा म ….अर्थात् उनकोबारे लेख्दै छु । उनी सर्वज्ञ हुन् । उनको स्वाभिमान वा अहंकार छुटयाउन सक्दिनँ । इसाई नबनेका कार्यकर्ता पनि महाविश्वासी बनेर उनलार्ई प्रभूको दर्जा दिन्छन् । भनेका, कहेका ज्ञान, विज्ञान र इतिहासका हरेक घटनालाई देववाणीझैँ स्वीकार्छन् । विश्वासी इसाईप्रति प्रश्न उठाउनेलाई सैतान र दुष्टात्मा प्रवेश भनिएजस्तै भक्तरामहरू हुजुरमाथि प्रश्न उठाउनेको उछित्तो खन्न साईबर सेना प्रयोग गर्छन् ।
समकालीन राजनीतिक इतिहासको अध्ययन गर्दा पात्रभन्दा त्यस्ता प्रवृत्तिको चर्चा आवश्यक हुन्छ । प्रवृत्तिले पात्रका रूपमा रजाइँ गरेर समाजको आम चरित्र बन्न सक्छ । छुत रोगझँै चरित्र सामाजिक स्वभावमा फेरिएर भक्त जन तयार हुन्छन् । व्यक्तिको मूल्यांकन विगतको परिचयले हैन, लच्छेदार भाषण, चुट्किला, कटाक्षले हैन अहिलेको कर्मले हुने गर्छ । कति जेल वा गोलघर बस्यो ? कति भूमिगत बस्यो ?कुन–कुन क्रान्तिमा सहभागी भयो? कति धर्मकर्म, तीर्थव्रत ग¥यो ? कुनै अर्थ नराखेर राजनीतिक ब्यापारको भ¥याङ मात्र बन्छ । इतिहास रक्षा त वर्तमानको भूमिका, चरित्र र स्वभावले मात्रै गर्छ ।
मान्छेको आकार भाँडाको पानीजस्तै हो । एउटा कालखण्डको परिचय अर्को अवस्थामा फेरिन सक्छ । कसैले व्यवहार गर्दा तपाईंको सोचअनुसार नभै उसकै र स्तरअनुसार गर्छ । भित्रैबाट केही न केही चोट खाएर उम्कन छट्पटिइरहेकाले हीनताबोध ग्रस्त भएर उच्चताबोध प्रदर्शन गर्छन् । गोमन सर्प बहादुर नभै डरपोक भएकाले पहिलो आक्रमण गर्छ । आक्रमण नै आफ्नो सुरक्षा अस्त्र भएकाले डरपोकहरू भय लुकाउन बहादुर देखिन चाहन्छन्, हैसियत फेरिन्छन् ।
बाल्यकालको अभाव र तनावबाट मर्माहत भएकाले विगतको कसैले पनि याद नदिलाओस् भनेर बालसखा, किशोर दौँतरी, जेल वा भूमिगत जीवनका सहयात्री, पुराना कमिटीगत मित्रलाई नजिक ढिम्कनै दिँदैन । जसले कमीकमजोरी थाहा पाएर सर्वांग देखेको हुन्छ, तीसँग ऊ सधैँ अत्तालिरहेको हुन्छ । स्मृति मेटाउने र उटपट्याङ नयाँ न्यारेटिभ तयार गर्ने खेलमा उल्झिरहन्छ ।
भयग्रसित मान्छे सधैँ शंकालु भएर कसैलाई पनि पूर्णविश्वास गर्दैन । आफूले अरुलाई धोका दिएको सम्झेर हरेक पछुवा धोकेवाज हुन्छन् भनी सोच्ने गर्छ । कुन बेला कुन दाउ चल्ने हो भनेर खास भक्तले पनि पत्तै पाउँदैनन् । खास भक्तमा दरिन उटपट्याङ कुरा, इतिहास र विज्ञानविरोधी भनाइ राख्दा पनि जमातले ताली पड्काउँछन् । चतुरेहरू मालिकको इशारा बुझ्छन् । साइबर जासुसी प्रयोग गरेर पनि आतंकित शक्तिविरोधी सोच र योजना थाहा पाउन हवाई फायर गर्छन् र प्रतिक्रिया कुर्छन् । आफन्तका योग्यता र क्षमता सिर्जनामा नभै बैरीप्रति कति आक्रामक छन् ! भन्नेमा हुन्छ । शरण पर्नेलाई राजनीतिक र भौतिक सुरक्षा दिएर भजनमण्डली तयार गर्छन् भने जीवनको कुनै कालखण्डमा कसैले गरेका आलोचना, विरोधलाई इख सजाउँदै ध्वस्त पार्न कुनै अवसर चुक्दैनन् । कोखाँ दाह्रा र लुकाएका छुराले कुनै पनि बेला छातीमा धस्न सक्छ । आफू दर्बिलो, सर्वज्ञ देखाउन नयाँ–नयाँ फन्डा फ्याँकिन्छ ।
डिप्रेश मान्छे भ्रमित दिमागले रिस उमार्छ, गाली बक्दै मनसुख हुन्छ । शक्ति गुमेको बरबराहटलाई सैद्धान्तिकीकरण र राजनीतीकरण गर्ने मौका चुकाउँदैन । व्यक्तिको उचाइ, अवस्था र मूल्यांकन उसको वरिपरि रहने, मित्र मित्रमण्डलीको सामाजिक प्रतिष्ठासँग जोडेर हेरिन्छ । संगत कोसँग छ भनेर मूल्यांकन गरिन्छ । शब्दको गरिमा कसरी धानेको छ नियालिन्छ । संकटमा, प्रतिकूल परिस्थितिमा क्षमता कसरी देखाउँछ भन्ने जगको चासो हुन्छ । तर, अन्तरनिहित शक्ति प्रयोग गरेर प्रतिकूलतालाई ज्ञान, बुद्धि, कला, सूचना हिम्मतले परास्त गर्न पनि सकिन्छ ।
फर्मुलामा सफलता पाइँदैन, कुनै किताबमा तरिका लेखिएको हुँदैन । समय महान्पथप्रदर्शक हो । रक्सी थपिँदै गएपछि नसा चढ्दै जान्छ, त्यस्तै मूर्खता पनि समर्थन पाएपछि हौसिँदै जान्छ । मूर्ख, बौलाहा र जँड्याहा फरक हुन्छन् तर ती सबैको समान चरित्र भनेको आफू कुन अवस्थामा छु भन्ने पत्तै हुँदैन । जसले उसको अवस्था सम्झाउँछ महादुश्मन बन्छ । साँच्चैका दुश्मनहरू अझ गल्ती गरेर झन् नांगियोस् भन्ने सोच्छन् ।
मूर्ख, अहंकारी र भ्रमित अगुवाले आफैँलाई मात्रै ध्वस्त गर्दैन, त्यो कालखण्डलाई पनि प्रभावित पार्छ । तब फासिष्ट चरित्र विकास हुन जाति, धर्म, अन्ध राष्ट्रियता र अभिजात वर्गीयमिथकले पछुवाको दिमाग साफ गरिन्छ । लम्पटहरू तिघ्रा ठटाउँछन् । विगतमा महानता खोज्छन्, भविष्यमा हैन । हिटलर, तोजो र मुसोलिनीजस्तै क्षणिक शक्तिशाली देखिन पनि सक्छन् ।
गरिब कुलकै अभिजातहरू पनि परिवतर्नलाई मनैदेखि स्विकार्न सक्दैनन् । परिवर्तनका राप र ताप रहुन्जेल मत्थर देखिए पनि उनलाई अतितको स्मृति र भविष्यको भयले सधैँ सताइरहेको हुन्छ । वर्ग सिफ्ट भएका सर्वहारा र कम्युनिष्ट बुर्जुवाभन्दा तल्लो दर्जाका मानव सामन्तमा फेरिँदा समर्थकलाई आज्ञाकारी बनाउन भयभीत बनाइरहेर आसेप्रवृत्तिमा ढाल्छन् । …..अर्थात् उनी यस प्रवृत्तिको केन्द्र, मुहान, र कारखाना हुन् जो हीनताबोध छिपाउन उच्चताको प्रदर्शन गर्छन्, डर लुकाउन बहादुरीका बखान गर्छन्, अर्कालाई कटाक्ष र गाली गर्दै महान कहलाउन चाहन्छन्, जन्मपत्रिदेखि आतंकित हुँदै रुढीवादलाई साँस्कृतिक विरासत भनेर उरन्ठेउला तर्क कोरल्छन् । तर, सर्वज्ञ कहलिने चाहनाले हाँस्य पात्र बनिरहेका हुन्छन् ।
टिप्पणीहरू