सवा सय चिनियाँ पाँच तारे होटलमा लक,यता बस्नेहरु भोकै हुने भय
उत्तरी छिमेकी चीनले मुलुकभित्र कोरोना महामारीको नयाँ भेरिएण्ट ओमिक्रोनले उपद्रो मच्चाउने आशंकामा गत महिनादेखि ठूला शहरमा समेत निकै कडाइका साथ स्वास्थ्य मापदण्ड तोकेको छ । विदेशबाट छिर्ने चिनियाँ वा विदेशीले अनिवार्य २१ दिन क्वारिण्टिन बस्नै पर्ने नियम बनाइएको छ । त्यो पनि आफ्नो घरमा होइन,सरकारले तोकेको स्तरीय होटलमा ।
अहिले त्यस्तै समस्यामा नेपालस्थित एक सय २० जना चिनियाँ नागरिक परेका छन् । अरु धेरै चिनियाँचाहिँ आगामी दिनमा भोकै मरिने हो कि भन्ने चिन्ताले पिरोलिएका छन् । नेपालको नयाँ बर्ष सकिएकै भोलिपल्ट आगामी शुक्रवार चार्टर फ्लाइटबाट स्वदेश फर्कन लागेका चिनियाँहरु चैत १८ गतेदेखि काठमाडौंका दुई वटा पाँच तारे होटलभित्र कडाइका साथ बसेका छन् ।
ह्वासिन सिमेन्ट कारखानामा काम गर्ने उनीहरु नेपालको नयाँ वर्षको भोलिपल्ट चीन जान ठिक्क परेका हुन् । तर चीनले तोकेको पछिल्लो मापदण्डअनुसार उनीहरुले सम्बन्धित देशमा १४ दिन क्वारिन्टन बस्नैपर्छ । चीन पुगेपछि २१ दिन फेरि होटलमा क्वारिन्टिन बस्नुपर्ने नियम छ ।
“उनीहरुमध्ये अधिकांशले आफ्ना परम्परागत खानाको निम्ति उतैबाट मसलादेखि मासुसम्म मगाउने गरेका थिए । तर नेपालले विदेशबाट आयात गरिने सामानमा कडाइ गरेपछि अब आफ्नो खाना उपलब्ध नहुने आँकलन गरेका छन् ।”
अहिले त्यहि मापदण्ड पालना गर्दै उक्त सिमेन्ट कारखानाका एक सय २० जना चिनियाँ दरबारमार्गको होटल याक एण्ड यति र लाजिम्पाटको होटल र्याडिसनमा बसिरहेका छन् । उनीहरु आगामी शुक्रबार चीन पुगेपछि घर जानुअघि पुनः २१ दिन होटल क्वारिन्टिनमा बस्दैछन् ।
काठमाडौंमा उनीहरु दिनको ८० डलर प्रतिव्यक्तिका दरले होटलमा बसेका हुन् । उता २१ दिनको पनि त्यहि अनुपातमा होटलमा रकम बुझाउनुपर्ने छ । चार्टर विमान भएकाले हवाई भाडा थप महँगो हुनु स्वाभाविक हो । औसतमा प्रतिव्यक्ति छ हजार अमेरिकी डलर खर्च हुने अनुमान सिमेन्ट कारखानाले गरेको छ ।
केही चिनियाँले ठमेलका साधारण होटलमा बस्न खोज्दा सम्बन्धित निकायले ‘हुँदैन’ भनेपछि उनीहरुलाई पाँच तारेमा बस्नै पर्ने भएको हो । स्रोतले साधारण होटलमा बस्दा क्वारिन्टिनको मापदण्ड नपुग्ने भएकाले पाँच तारेमा बस्न भनिएको पुष्टि गरेको छ ।
उता चीनमा अहिले मास्क नलगाउने,स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडाइका साथ जरिवाना गर्न थालिएको छ । तर,हाम्रोमा भने न शहर न देश सबै फुक्काफाल तरिकाले अघि बढेको पाइन्छ । खुल्ला सीमाना भएकाले भारतबाट आउनेमा संक्रमण हुने भएकाले विदेशीहरुले हाम्रो समाजलाई अझै पनि संक्रमणको दृष्टिकोणमा जोखिम क्षेत्र मानेका हुन् ।
यसैबीच विभिन्न परियोजना र व्यापार व्यवसायको कारण यतै रहेका चिनियाँको संख्या झण्डै तीन हजार रहेको बताइएको छ । उनीहरुमध्ये अधिकांशले आफ्ना परम्परागत खानाको निम्ति उतैबाट मसलादेखि मासुसम्म मगाउने गरेका थिए ।
तर नेपालले विदेशबाट आयात गरिने सामानमा कडाइ गरेपछि अब चिनियाँहरुले नेपालमा उनीहरुको खाना उपलब्ध नहुने आँकलन गरेका छन् । सामान्यतयाः अन्य मुलुक वा क्षेत्रको खाना नरुचाउने चिनियाँहरुको विशेषताको कारण अब एलसीमा गरिएको कडाइले चिनियाँहरु आगामी दिनमा भोकै मरिने पो हो कि भन्दै पिरोलिन थालेका छन् ।
उता काठमाडौंको स्वयम्भू क्षेत्रमा पछिल्लो तीन वर्षदेखि एक जना चिनियाँले दैनिक साढे सात सयभन्दा बढीलाई भोजन खुवाउँदै आएका छन् । उनले गरिब, विपन्न र सडकमा बसेर गुजारा चलाउनेहरुलाई दैनिक भेराइटीका खाना उपलब्ध गराउँदै आएको बताइन्छ । खानासँगै उनले यदाकदा उनीहरुलाई लत्ताकपडा समेत वितरण गर्दै आएको स्थानीयले बताएका छन् ।
टिप्पणीहरू