झापाका एमाले नेताद्वारा पार्टी परित्यागको घोषणा
एमाले झापाका नेता डिल्लीराम घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामै नेताहरुले दल त्याग्न थालेपछि अनेका आशंक गरिएको हो ।
एमाले क्षेत्र नम्बर ३, समन्वय समितिका संयोजकसमेत रहेका घिमिरेले सामाजिक सञ्जालमा पार्टी छाड्नु परेको कारण लेख्दै उक्त घोषणा गरेका हुन् । घिमिरे तत्कालीन काँकडभिट्टा गाविसका अध्यक्ष थिए ।
उनले पार्टीभित्र पटक पटकको अन्याय सहन नसकेर दल त्यागेको बताएका हुन् । उनले लेखेका छन्, ‘गुटबन्दीका नाइकेहरुसँग पटक पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको छु ।’
उनी एमालेबाट २०४८ सालमा काँकडभिट्टा गाविसका अध्यक्ष थिए । उनले मेचीनगर नगरपालिकाको मेयर पदको उम्मेदवार हुने आकांक्षा राखेका थिए । एमालेभित्र १० बुँदे पक्षधरलाई निमिट्यान्न पार्ने रणनीति बुझेपछि उनले पार्टी परित्यागको घोषणा गरेको बताइन्छ ।

टिप्पणीहरू