एमालेको रोजाइमा नवप्रवेशी,पुराना असन्तुष्ट

एमालेको रोजाइमा नवप्रवेशी,पुराना असन्तुष्ट

विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । हालै तामझामका साथ भित्र्याइएका बाँकेका पशुपतिदयाल मिश्र र मोरङका दिलीप बगडियालाई एमालेले मेयरको टिकट दिएको हो ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी गत १ मंसिरमा पार्टीमा मिसिएका मिश्रलाई एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै २५ फागुनमा नेकपा माओवादी केन्द्र छोडेर आएका बगडिया रंगेली नगरपालिकाको मेयरमा उम्मेदवार बनाइएका छन् । पुन: उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयर हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छन् । ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन् । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

नवप्रवेशीहरुले धमाधम टिकट पाउन थालेपछि पुराना नेता-कार्यकर्तामा भने असन्तुष्टि चर्किएको छ । पार्टीमा लामो समय योगदान गरेका दर्जनौँ आकांक्षीलाई बेवास्ता गर्दै ‘अवसरवादी’ हरुलाई मेयरमा सिफारिस गरिएको त्यहाँका रैथाने एमालेहरुको गुनासो छ ।

यसैबीच अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका डिल्लीराम घिमिरेले एमाले परित्यागको घोषणा गरेका छन् । मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी घिमिरेले टिकट नपाउने निश्चित भएपछि एमाले छोडेका हुन्।

टिप्पणीहरू