कम्युनिष्ट पार्टीमा यसरी सोधिन्छ र आउँछ स्पष्टीकरण
अध्यक्ष कमरेड किरण,
नेपाल कम्युनिष्ट पार्टी माओवादी मार्फत उपाध्यक्ष कमरेड गौरव, इञ्चार्ज,
अन्तर्राष्ट्रिय ब्युरो, नेकपा माओवादी
विषय : प्रष्ट्याइँ
हाम्रो पार्टीको असार २५, २०७० मा बसेको पोलिटब्युरो बैठकले वैकल्पिक सिसिएमद्वारा सञ्चालित वेबसाइट ब्लग द नेक्स्ट फ्रन्टमार्फत पार्टीको नीति र नेतृत्वविरुद्ध अनर्गल प्रचार गरेको हुनाले अविलम्ब स्पष्टीकरण लिने निर्णय गरेको सन्दर्भमा यो प्रष्ट्याइँ प्रस्तुत गर्ने काम भएको छ ।
१. सोधपुछको स्तरबाटै प्रष्ट हुने कुरालाई पिबिको लिखित निर्णयकै रूपमा प्रस्तुत गर्नुका साथै निर्णयमा प्रयोग गरिएको भाषाले सिंगो नेक्स्ट फ्रन्ट र म आफूप्रति बढी नकारात्मकता प्रदर्शन गर्न खोजिएको आभाष भएको छ । यस किसिमको निर्णय आवेग र आक्रोशको तहबाट आएको भन्ने पनि आफ्नो बुझाइ छ । पोलिट ब्युरोलाई यस किसिमको निर्णय गर्ने अधिकार छैन ।
२. पोखरा बैठकअघि द नेक्स्ट फ्रन्टमा पोष्ट गरिएका रचनाहरूबारे केही प्रश्न नउठाइएको र बैठकपछि यस किसिमको निर्णय गरिएकाले सीसी मिटिङ ः अन स्टेप फरवार्डका सम्बन्धमा प्रश्न उठाइएको हुनुपर्छ भन्ने बुझाइका साथ यहाँ केही कुरा प्रष्ट पार्ने प्रयास गरेको छु ।
३. पोखरा बैठक ऐतिहासिक थियो । यसले गरेका निर्णय, नीति, योजना र कार्यक्रमलाई लिएर आफू अलि बढी उत्साहित भएकै हँु । ऐतिहासिक बैठकका निर्णयहरूलाई विश्वव्यापी गर्नुपर्छ भन्ने लागेर अङ्ग्रेजीमा लेख प्रकाशित गरेको हुँ ।
४. पोखरा बैठक चलिरहेकै बेला सबै कुरा बाहिर आएको, पत्रपत्रिकाले दस्तावेजसहित सबै कुरा बाहिर ल्याइसकेको, एक हिसाबले सबै कुरा खुला भइसकेको स्थितिमा त्यतिसम्म लेख्दा सही नै हुन्छ भन्ने लागेर बैठकको स्पिरिटलाई बाहिर ल्याएको हुँ । यसमा मेरो गलत नियत छैन र पार्टीको नीतिविरुद्ध जाने उद्देश्य पनि होइन ।
५. एकीकृत माओवादीमा छँदादेखि नै द नेक्स्ट फ्रन्टले दुई लाइन संघर्षका सन्दर्भमा क्रान्तिकारी नीति र नेतृत्वप्रति प्रतिबद्ध भई विचार संवहन गरेको र यताका दिनमा पनि गर्दै आएको कुरा प्रष्ट पार्न चाहन्छु । अनर्गल प्रचार कहाँ र कसरी भयो, को माथि भयो र कसलाई नेतृत्व भनिएको हो, प्रष्ट छैन ।
६. केन्द्रीय समितिकोे एक मतले निर्णय पारित गरेपछि टुंगिसकेका विषयहरू खास व्यक्तिसित जोडेर बाहिर ल्याउनु आवश्यक थिएन र उचित पनि हुँदैन । यसरी हेर्दा प्रस्तुतिमा ध्यान नपुगेको देखिन आउँछ ।
७. अमुकअमुक नेताहरूसित आफूलाई जोडेर गलत प्रवृत्तिहरूको अभ्यास गर्न खोज्ने प्रवृत्ति पार्टीमा जसरी सक्रिय हुन थालेको थियो र छ, त्यसलाई औँल्याउनु यसको मूल उद्देश्य थियो, त्यहाँ महासचिव कमरेडको वैचारिक पक्षप्रति प्रश्न उठाउन खोजिएको अथवा नेतृत्व तहका कमरेडहरूप्रति अनर्गल प्रचार गर्न खोजिएको थिएन र होइन । पार्टी एकता, हित र अनुशासनका दृष्टिले पछिका दिनमा यस किसिमका अभिव्यक्तिप्रति सचेत हुनु आवश्यक छ भन्ने लागेको छ ।
८. ब्लग पनि फेसबुकजस्तै सामाजिक सञ्जाल हो । द नेक्स्ट फ्रन्ट पार्टीको आधारभूत नीति र कान्तिको लागि लडिरहेको नेतृत्व र अन्य कमरेडका विरुद्ध जाने भन्ने कुराको कल्पना पनि गर्न सकिँदैन ।
९. आशय सुन्दर हुंदाहुँदै पनि अति उत्साह वा आवेगमा केही कमजोरी हुन सक्छन्, गल्तीकमजोरी सबैबाट भएका छन् । गल्ती, कमजोरी सच्याउने प्रक्रियालाई सकारात्मकतातिर उन्मुख गराउने हो अथवा नकारात्मकतातिर, रचनात्मकतातिर कि ध्वंसात्मकतातिर भन्ने प्रश्नचाहिं अहम् विषय हो । आवेग र आक्रोसमा गरिएका निर्णयले दूरगामी रूपमै नकारात्मक असर पर्न सक्ने कुराप्रति पनि त्यत्तिकै चनाखो हुनु आवश्यक छ भन्ने लागेको छ । अहिलेको विशिष्ट परिस्थितिमा एकताको भावलाई अघि बढाउन आत्मसमीक्षाको पाटोलाई माथिदेखि नै सुदृढ तुल्याउनु आवश्यक छ भन्ने कुरा पनि प्रष्ट पार्न चाहन्छु ।
१०. अहिले पार्टीमा गुटबन्दी, विभाजन र प्रतिशोधी भावना होइन, सुदृढ एकता र हार्दिकताबोधको खाँचो छ, यसको आभाष र अनुभूति पनि माथिबाट नै गर्नु गराउनु आवश्यक छ भन्ने कुरा पनि प्रष्ट पार्न चाहन्छु ।
– ऋषिराज बराल, वैकल्पिक केन्द्रीय सदस्य असार ३१, २०७०
टिप्पणीहरू