भेटी उठाएर १० दिनमा ६ लाख आम्दानी
खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २ सय ३० आम्दानी भएको हो ।
हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २ सय रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९ सय ५०, बसाहा गुफामा राखिएको दानपेटीकाबाट ९३ हजार ९ सय ८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २ सय र ढ्याके सटहीबाट ३ हजार ९ सय आम्दानी भएको हो ।
२६ चैतमा शिवरात्री मेला परेका कारण पनि हलेसीमा १० दिनमा उल्लेख्य मात्रामा भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिएका छन् ।
विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलव भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५ सय ३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६ सय ९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रुपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।
टिप्पणीहरू