तालमेलको अधिकार तलै दिनुपर्छ : गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै दिनुपर्ने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीयस्तरमा सहमति भएमात्रै तालमेल सफल हुने बताउनुभएको हो ।
गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने पनि थापाको भनाइ छ । उहाँले गठबन्धनका दलहरुबीचमा देशभरी तालमेल गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा कुरा मिलेमात्रै तालमेल हुने अन्यथा एक्लाएक्लै स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।
’गठबन्धनमा रहेका दलहरुबिचमा देशैभरी तालमेल गर्ने विषयमा छलफल चलिरहेको छ, उहाँले भन्नुभयो, ’छलफल चल्दै गर्दाखेरी कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन भनेदेखि आ–आफू लड्न पाइन्छ । लड्न पाउनुपर्छ ।’
स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय थोपर्न नहुने पनि थापाको भनाइ छ । उहाँले व्यक्तिगत रुपमा आफू चुनावी तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मान्ने बताउनुभयो ।
टिप्पणीहरू