हिजो कुन-कुन विशिष्ट व्यक्तित्वले क-कसलाई भेटे

हिजो कुन-कुन विशिष्ट व्यक्तित्वले क-कसलाई भेटे

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मीले विभिन्न पक्षीय भेटवार्ता र नेताहरुका दौडधुप बाक्लिएको छ । प्रमुख पार्टीका शीर्ष नेतादेखि सरकारका मन्त्रीसम्मलाई चुनावी चटारोले भेटघाट र छलफलमा ब्यस्त बनाएको छ ।

हिजो मात्रै सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको सिट भागबण्डा टुंगो लगाएको छ । केही दिनयताको लगातार छलफलपछि हिजो अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले भागबण्डामा सहमति जुटाएको हो ।

त्यसअघि हिजो नै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभयो । अध्यक्षलाई भेट्न बिहान साढे सात बजे खुमलटार पुग्नुभएका अर्थमन्त्री करिब ३५ मीनेट त्यहाँ रहनुभएको थियो । माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री शर्मा र प्रचण्डबीच मुलुकको अर्थतन्त्र र आसन्न चुनावका विषयमा छलफल भएको बुझिएको छ।

माओवादी अध्यक्ष प्रचण्डलाई हिजो पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पनि भेट्नुभएको थियो । बस्नेतले खुमलटारस्थित प्रचण्ड निवासमा बिहान १० बजेसम्म एक घण्टा अध्यक्षलाई भेट्नुभएको हो ।

जिल्लाका नेता-कार्यकर्तासंगको छलफल,गठबन्धनको बैठक,चुनावी तयारीका कारण समयको चापाचापका बीच हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटघाट गर्नुभयो । प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच बालुवाटारमा बिहान आधी घण्टाको भेटमा रुसबाट २ वटा हेलिकप्टर र अमेरिकाबाट ६ हजार थान हतियार खरिदवारे प्रसङ्ग उठे नउठेको विवरण खुलेको छैन ।

त्यसलगत्तै बालुवाटारमै सत्ता गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा ११:२० बजेबाट शुरु भएको बैठक साँझ ५ बजेसम्म चलेको थियो । बैठकमा प्रधानमन्त्री,माओवादी केन्द्रका प्रचण्ड,काङ्ग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतको सहभागिता थियो । यहि बैठकले महानगर र उपमहानगरको सिट भागबण्डा मिलाएको हो ।

हिजो बनमन्त्री रामसहाय प्रसाद यादव र प्रधानसेनापति शर्मावीच पनि भेटघाट भएको छ । मन्त्रालयले आयोजना गरेको वन जंगल तथा वन्यजन्तुसम्बन्धी बैठकमा उहाँहरुबीच भेट भएको हो । दिउँसो २ बजेदेखि झन्डै एक घण्टा चलेको सो कार्यक्रममा मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलसहित डेढ दर्जनको उपस्थिति थियो।

भारतीय कार्यवाहक राजदूत नाम्ग्य सी खम्पाले गृहमन्त्रालयमा पुगेर हिजो दिउँसो सचिव टेकनारायण पाण्डेलाई भेट्नुभयो । भेटवार्ता दिउँसो सवा तीनदेखि शुरु भएको हो ।

जमलस्थित होटल एल्लो प्यागोडामा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली,राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनासहितको उपस्थितिमा महिलाहरुको हक अधिकार संरक्षणका बिषयमा सरोकारवालाहरुले हिजो बिहानै अन्तरक्रिया गरेका थिए। झन्डै तीन घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा दर्जनौको सहभागिता थियो।

हिजै एमाले अध्यक्ष केपी ओलीले ललितपुरको गोदावरीमा ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनु भयो ।

हिजोमात्रै नेपाल आइपुग्नुभएका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा लोकसभाका सदस्य सुशीलकुमार सिंह ईन्डिगो एयरलाइन्सबाट साँझ स्वदेश फर्किनुभयो ।

टिप्पणीहरू