आकाशै प्रतिबन्ध, यो कस्तो परिवन्द !
आकाशतिरको अचम्म के छ भने, नेपाली जहाजले युरोपका आकाशमा उडान भर्न पाउँदैनन्, तर त्यताका विशेषज्ञ आएर यहाँको हवाई सुरक्षा स्थितिबारे अनुगमन (अडिट) गर्छन् ।
विभिन्न देशका उड्डयन विशेषज्ञ सम्मिलित ‘एयर सेफ्टी अडिट’ टिम गत १२ अप्रिल (चैत २९) देखि नेपालमा आएको छ । २५ तारिख, अर्थात् आउने सोमबार वैशाख १२ गते फर्किन्छ । संसारका १ सय ९३ देशमै उनीहरू यस्तो अनुगमनमा जान सक्छन् ।
अहिले नेपाल आएको टोलीमा फ्रेञ्च, क्यानेडियन, अमेरिकन, इजिप्सियन, अफ्रिकन विशेषज्ञ छन् । उनीहरू आइकाओसम्बद्ध विशेषज्ञ हुन् । त्यसले संयुक्त राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रको एभिएसन प्रणाली अध्ययन गरी आवश्यक निर्देशन दिने अधिकार राख्दछ ।
अचम्मचाहिँ के छ भने, युरोपेली आकाशमा नेपालको उडान प्रतिबन्ध कायमै छ । भनिएजस्तो त्यहाँका आकाशमा उडान गर्न नेपाल कालोसूचीमा परेको हैन, ‘सेफ्टी लिष्ट’ का नाममा नेपाली जहाजले त्यहाँ उड्न नपाउने हो । ‘कालोसूची’ त हाम्रै देशका उपबुज्रुकहरूले भनेका हुन् ।
यो स्थिति अझै १० वर्ष कायम हुने अनुमान नेपाली एभिएसनका जानकारहरूले लगाएका छन् । जे–जे भनेर युरोपेली आकाशमा नेपाली विमान उड्न नपाएको हो, ती कारण खुलाइएको ‘सेफ्टी लिष्ट’ मध्ये नेपालले सबै मापदण्ड पूरा गरिसक्यो । त्यहीअनुसार अष्ट्रेलियासम्म लान २ वटा वाइडबडी जहाज युरोपबाटै किनेर ल्याइएको हो ।
तैपनि त्यता हाम्रा जहाज उड्न दिइँदैन । बरु, उल्टै नेपालको उड्डयन प्रशासन र त्यसका संरचनामाथि हस्तक्षेप गर्न खोजिएको छ । उनीहरू चाहन्छन्, अहिले नेपालको उड्डयन क्षेत्रका सम्पूर्ण मामिलालाई नियमन, नियन्त्रण र निर्देशन दिने नागरिक उड्डन प्राधिकरणलाई अलग पार्ने ।
खासमा अर्काको देशका ढोका छुट्टयाउने, खुट्टयाउने काम उनीहरूले गर्न पाउने हैनन् । तर, निरीह देशलाई जे भने पनि हुन्छ भनेर हेपाहा व्यवहार प्रदर्शित भइरहेको गुनासो छ । त्यसो त नेपाल पनि सम्पूर्ण रुपमा दोषमुक्त भएको स्थिति होइन । एउटा गल्ती हो कि, नेपालले बाइ वान गेट वान फ्रिको लोभमा ३ वटा चिनियाँ जहाज किन्यो ।
किनेर पनि राम्रोसँग चल्न पाएको भए वा त्यसप्रतिको विश्वव्यापी स्वीकार्यता भइदिएको भए हुन्थ्यो । किनेर थन्क्याइएको छ, ऋणको भारी बोक्नुमात्रै भयो । त्यसको सट्टा नेपालले युरोपेली जहाज किनेको भए उनीहरूको आकाशमा जारी प्रतिबन्ध मत्थर हुन्थ्यो कि भन्ने चर्चा पनि चल्ने गरेको छ ।
युरोपेलीहरू रिसाएको चिनियाँ जहाज किनेको नाममै हो । फेरि अर्को अचम्म पनि छ, युरोपेलीहरू नेपाललाई जहाज बेच्न चाहन्छन् । उनीहरूले नै बेचेको जहाज उनीहरूको आकाशमा उड्न नपाउने भए किन बोइङ बेच्न लगाएर एअरबस भिडाएको भन्ने ज्वलन्त प्रश्न जिउँदैछ ।
बढ्दो पर्यटक
कोभिड संक्रमणका कारण पर्यटक आवागमनमा कमी भएको त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा हिजोआज चहलपहल बढेको छ । तर, नेपाल न हो, एउटा प्वाल टाल्यो, अर्कातिर भ्वाङ भनेजस्तो । आएका थुप्रै पर्यटकले त्यहाँ अनअराइभल भिसा पाउने हुन् ।
तिनले सोको दस्तुर पनि त्यहीँ तिर्छन् । तर, अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको राष्ट्रिय बाणिज्य बैंकको डलर कार्ड स्वाइपर मेसिनले काम गरेन । त्यहीं बाणिज्य बैंकको एउटा काउन्टर पनि छ ।
संसारभरि नगदी कारोबारलाई विद्युतीय भुक्तानी प्रणालीले विस्थापित गरिरहँदा नेपालको एयरपोर्टमा अस्तिदेखि बैंकले बल्लतल्ल काउन्टर थाप्दैमा आउने विदेशीले डलर गनेर तिर्ने अवस्था छैन । किनभने, उनीहरू कार्डबाट भुक्तानी गर्न मानसिक रुपमा तयार भएर आएका हुन्छन् ।
त्यसमाथि नेपाल सरकारले पनि अनलाइन भुक्तानीलाई नै प्राथमिकता दिने नीति अबलम्बन गरेको छ । तर, विमानस्थलको इन्टरनेट सपोर्ट राम्रो नहुँदा समस्या छ । यो कारणले नहुनुपर्ने भीड बढेर हैरान छ ।
पर्यटक आगमनको दर भने दैनिक २ हजारदेखि २५ सयले बढेको छ । अन्तर्राष्ट्रिय टर्मिनलबाट दैनिक १० हजार मानिसले आवतजावत गरेको तथ्यांक नागरिक उड्डयन प्राधिकरणसँग छ ।
अर्को विकराल अवस्था छ, नेपालीहरू विभिन्न देश त जान्छन्, तर कहाँ पुग्छन् भन्ने कुराको अभिलेख नहुनु । नेपालीले खाडी राष्ट्रमा दुःख पाए भनेर सरकारले अनेकन नीति अबलम्बन गर्यो । त्यो कडाइका कारण आजकल विभिन्न खाडी मुलुक जाने यात्रुहरूले चोर बाटो अपनाउने गर्दछन् । काठमाडौंबाट उड्दा दिल्ली, बैंककको टिकट र भिसा बोकेका हुन्छन् ।
गन्तव्यमा उत्रिएपछि त्यहाँबाट खाडीतिर लाग्छन् । अहिले खाडीभन्दा बढी पूर्वी युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि जाने चलन बाक्लिएको छ । कामदारका रुपमा जाने ती नेपाली विमानस्थल छिरेपछि पनि सरकारको अनुगमन र नियन्त्रणमा हैन, म्यानपावर कम्पनीले सिकाएका कुरामा लाग्छन् ।
उनीहरूलाई ओमान, इराक, कुवेतजस्ता महिलाका लागि प्रतिबन्धित मुलुक जाने कुरा उच्चारणसम्म नगर्न म्यानपावरहरूले भनेका हुन्छन् । गर्छन् पनि त्यसै । हातमा टिकट र भिसा अर्कै देशको भएपछि अध्यागमनले नपत्याउन पनि भएन ।
तर, दिल्ली वा बैंकक उडेका उनीहरू त्यहाँबाट निर्वाध प्रतिबन्धित मुलुक पुगिदिन्छन् । अध्यागमनले चेकजाँच गर्ने भनेको पासपोर्ट, टिकट र होटल बुकिङ हो, त्यसमा जम्मा दुई मीनेट लाग्छ । तर, उनीहरू दुई घण्टा छानवीन गर्दा पनि पत्ता नलाग्ने गरी झोलामा अर्कै देशको पेपर भीसा बोकेर पुगेका हुन्छन् ।
टिप्पणीहरू