निदाएकी श्रीमतीलाई तारपिनको तेल छर्केर श्रीमानले आगो झोसे

निदाएकी श्रीमतीलाई तारपिनको तेल छर्केर श्रीमानले आगो झोसे

विवाह एउटी महिला र पुरुषबीचको समझदारीपूर्ण मिलन हो । जसमा समाज, परिवार र स्वयम् सम्बन्धित जोडी पनि गाँसिएका हुन्छन् । नेपाली समाजमा विवाहित महिला र पुरुषबीचको सम्बन्धलाई लिएर ‘एक रथका दुई पांग्रा’ भन्ने मान्यता प्रख्यात छ ।

यसको अर्थ जीवनका हरेक यात्रामा श्रीमान र श्रीमतीको भूमिका हुन्छ भन्ने नै हो । एउटा घर र परिवारको जिम्मेवारी वहन गर्न पुरुषले खेल्ने भूमिका र सो कार्यमा स्वयम् एउटी महिलाको पनि उत्तिकै हुन्छ ।

यदि दुवैबीच समझदारीमा कुनै गन्तव्यको थालनी गरिन्छ भने उक्त गन्तव्य त्यति असहज पनि हुँदैन । असमझदारी, रिस र रागले भरिएको सम्बन्ध कुन ठाउँमा पुगेर अन्त्य हुन्छ भनेर कसैले पनि भन्न सक्दैन ।

अहिलेको युगमा असमझदारी, आक्रोशपूर्ण सम्बन्ध गाँसिएका कारण धेरै दम्पत्तिबीच मनमुटाव बढ्न थालेको पाइन्छ । यति मात्रै होइन अप्रिय घटना समेत भएका छन् । गए राति मात्र दुई फरक जिल्लामा दुई जना पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

सिरहाको लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीले श्रीमती अस्मिता चौधरीको शरीरमा आगो लगाई हत्या गरिदिए । उनले श्रीमती निदाएको मौकामा शरीरमा तारपिनको तेल खन्याएर आगो लगाएका थिए ।

आगोबाट जलेर अस्मिता गम्भिर घाइते भएकी हुन् । मृतकको सुषमा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० कपनस्थित आकाशेधारा नजिकै डेरा गरी बस्थे ।

यता मकवानपुरमा पनि सोही प्रकृतिको घटना भएको छ । भारतको मध्यप्रदेशस्थित भोपाल घर भएका ३० वर्षीय पवन सोनीले २८ वर्षीया श्रीमती दिया शर्माको घाँटी थिचेर हत्या गरेका छन् । उनी मृतक श्रीमतीसँगै बकैया गाउँपालिका ५ नजिकैको तीन तलेमा बस्दै आएको प्रहरीले बताएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रण लिइसकेको छ । उनीहरु दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू