‘मनाङको नेस्याङमा निर्विरोध निर्वाचित भनिनु निराधार’
आसन्न स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म हो । मनोनयन दर्ता प्रक्रिया नसकिँदै मनाङको एउटा वडामा वडाध्यक्षसहितका केही पदमा निर्विरोध निर्वाचित भएको भन्ने समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भएका छन् ।
नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएको बताइएको छ । माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मतदाता कम हुने स्थान भएकाले पनि यस्तो प्रक्रिया अपनाएको हुनसक्ने अनुमान गरिएको छ ।
तर पनि त्यो समाचार निराधार भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिनुभएको छ । आचार्यले आफुले त्यस्तो केही थाहा जानकारी नपाएको भन्दै मनोनयन दर्ता गर्ने समय नसकिँदासम्म केही भन्न नमिल्ने बताउनुभयो । ‘मनोनयन चलिरहेको छ । पहिला यो सकिनुपर्यो, त्यसपछि रुजु गर्नुपर्यो । त्यसपछि दाबी विरोध गर्लान्,’ उहाँले जनआस्थासँगको कुराकानीमा भन्नुभयो ।
सामाजिक सञ्जालमा वडाध्यक्षमा च्योल्पा गुरुङसहित सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएको बताइएको छ । यस्ता खालका भ्रामक समाचारको पछि नलाग्न पनि प्रजिअ आर्चायले सबैलाई अनुरोध गर्नुभएको हो ।
टिप्पणीहरू