मन्त्री र राजदूतबीच के विषयमा कुराकानी भयो ?

मन्त्री र राजदूतबीच के विषयमा कुराकानी भयो ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको निम्ति साउदी अरेबिया पुगेका नेपालीको समस्या समाधान गर्न त्यहाँको राजदूतसँग आग्रह गर्नुभएको छ । आज नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीसँगको शिष्टाचार भेटका क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।

मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको बताइएको छ । मन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएकाले त्यसको समाधानमा पहल गर्न राजदूतसँग आग्रह गर्नुभएको हो ।

नेपालीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको उजुरी तथा गुनासो पर्ने गरेको मन्त्रीले राजदूतसँको कुराकानीमा राख्नुभएको हो । गुनासो पोख्ने कामदारहरुको संख्या बढ्दै गएकाले नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्रीको भनाइ थियो ।

जवाफमा राजदूतले नेपाली कामदारको सहजता र समस्या समाधानको निम्ति आफ्नो मुलुक प्रतिबद्ध रहेको बताउँदै नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव राख्नुभएको बताइएको छ ।

हाल साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकाले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परिक्षण परियोजना सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ छ । त्यहाँ चार लाख नेपाली श्रमिक कार्यरत छन् ।

टिप्पणीहरू