राजावादी नै बन्ने पूर्वपञ्चहरूको रहर
चुनाव गराउन ०६९ सालमा गठित खिलराज रेग्मीको अन्तरिम मन्त्रिपरिषद्मा ११ जना कर्मचारी थिए – पूर्वप्रशासक माधवप्रसाद घिमिरे, हरिप्रसाद न्यौपाने, ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शंकरप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा (घर्ती), रामकुमार श्रेष्ठ र उमाकान्त झा – यीमध्येका कोही पनि राजनीतिमा होमिएनन् तर अस्ति सोमबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा अलि फरक देखियो ।
अपराह्न सहयोगीमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई खबर गयो, प्रधानमन्त्री कार्यालय, पर्यटन, सञ्चार र स्वास्थ्य मन्त्रालय चलाइसकेका रिटायर्ड सचिव केदार अधिकारीले भेट्न चाहेको । त्यसलगत्तै झण्डै १० मिनेट एकान्त वार्ता गरेका उनले पार्टीमा ‘सम्मानजनक स्पेश’ मागे ।
राजेन्द्रले वचन दिएसँगै उनीसहित नेपाली सेनाका उपरथी शशिचन्द्रबहादुर सिंह (अप्रा), मिर्गौला रोग विशेषज्ञ डा. अर्चनसमशेर राणा, स्त्रीरोग विशेषज्ञ डा. सूर्यबहादुर गुरुङहरू हलो पार्टीको झण्डामुनि प्रवेश गरेका छन् । राप्रपा स्रोतका अनुसार केही दिनअघि यस्तै प्रस्ताव बोकेर अर्का पूर्वसचिव पनि राप्रपा कार्यालय पुगेका थिए ।
त्यतिखेर उक्त पार्टीको पक्षमा माहोल बनिसकेको थिएन । हिजै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका भाइ तथा उपराष्ट्रपति कार्यालयबाट रिटायर्ड सचिव केदार न्यौपानेले आफू पनि राप्रपामा पस्न चाहेको खबर पठाएका छन् ।
यसरी पूर्व प्रशासकहरूमा पञ्च पार्टीप्रति मोह किन देखिएको होला ? राष्ट्रपति कार्यालयबाट अवकाशप्राप्त सहसचिव प्रतीक ढकालले आफ्नो शुभेच्छा र सद्भाव राजेन्द्र लिङ्देनप्रति रहेको बताए । हजारौं राजा पाल्नुभन्दा पैसा ओछ्याएर बसे पनि एउटै राजा ठीक थिए भन्नेमा अहिले धेरै जनता पुगिसकेका छन् । त्यही कारण राप्रपाप्रति सद्भाव देखिएको उनको ठहर छ ।
स्मरण रहोस्, न्यौपाने र ढकाल दुवै एमाले पृष्ठभूमिका कर्मचारी हुन् । यसअघि अवकाशप्राप्त कर्मचारी मिलेर नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरे तर वर्ष दिन पनि टिकाउन सकेनन् । १३ जना संस्थापक सदस्य, ८ जना संरक्षक, वरिष्ठ नेता, वरिष्ठ सल्लाहकार र प्रवक्ता रहेको उक्त पार्टीलाई एमालेमा लगेर मिसाए ।
पूर्वडिआइजी वसन्तराज कुँवर, अनेक पार्टीको सम्पर्कपछि अध्यक्ष भएका डिएसपी चुडादेव सिंह लामा (हाल एमाले केन्द्रीय सदस्य) पूर्व डिआइजी विनोद सिंह, सचिव धरणीधर खतिवडा, पूर्वएआइजी जीवन थापा, गुप्तचरका नवराज थापा, सेनाका जीवन कार्कीहरू एमालेमा विलय भए । आज उनीहरूको अवस्था के छ ?
प्रहरीबाटै राजनीतिमा लागेर पञ्चायतकालमै दुई आइजिपीले सांसद र मन्त्री खाए । खड्गजित बराल राष्ट्रिय पञ्चायतको सदस्य बने भने डिबी लामाले रसुवाबाट निर्वाचन जिते । जितेपछि रसुवा फर्किएनन् र सहायक मन्त्रीसम्म बने । पूर्वआइजिपी रवीन्द्रप्रताप शाहले माओवादीको कोटाबाट सांसद खाए ।
एसएसपीबाट अवकाश पाएका लक्ष्मीनरसिंह वादे बनेपाको मेयर बने । सुरक्षा संयन्त्र अर्थात् प्र्रहरीतर्फबाट पूर्वआईजीपी मोतीलाल बोहरा, ध्रुवबहादुर प्रधान, प्रदीपसमशेर जबरा, सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभ भट्टराई, नारायण पाण्डे, रमेश खरेल, गणेश राई, पूर्वएसएसपी सनन्दन प्रसाद कुर्मीलगायत राजनीतिक दल रोज्नेमा परे ।
देउवा सरकारले आइजिपी नबनाएपछि डिआइजीबाटै राजीनामा दिएर नवराज सिलवाल एमाले राजनीतिमा लागे । गणेश राईले एआइजीबाट अवकाश पाए, बाबुराम भट्टराईको नयाँ शक्तिको चार्म देखेर त्यता होमिए तर उनको उत्साह वर्ष दिन पनि टिकेको देखिएन ।
टिप्पणीहरू