‘जोकर’ हरूले गर्न थालेको पत्रकारिता
– दीपक खनाल
‘जोक’ गर्ने मानिसलाई ‘जोकर’ भनिन्छ । हिजोआज ‘भेज’, ‘ननभेज’ जोक भनेर मात्रै जोकर भइँदैन । यस्ता जोक नभने पनि विभिन्न क्रियाकलाप, हाउभाउ, व्यवहार, कर्म आदिबाट जोकर भइन्छ । त्यसैले लेखेर, बोलेर, राजनीति गरेर, व्यापार व्यवसाय चलाएर, जागिर खाएर, समाजसेवा, मानवसेवामा लागेर, धर्मकर्म, कर्मकाण्ड गरेर, पत्रकारिता गरेर, वकालत गरेर, न्यायालयमा बसेर आदि आदि तरिकाबाट हुन्छ जोक ।
संसारका चर्चित हास्यकार चार्ली च्यापलिन त ज्यान मर्काएर, हाउभाउ गरेर मात्रै हँसाउँथे दुनियालाई एक शब्द नै नबोलिकन । यस्तै यस्तै जोकरहरू हाम्रो देशका विभिन्न क्षेत्रमा छन् । यी जोकरहरूले हँसाउनु हँसाएका छन् । फेरि निर्वाचनको मौसम आउँदै छ । यसअवसरमा झन् कति हँसाउने हुन् तर यहाँ यी सबै जोकरहरूको चर्चा हुन गइरहेको छैन, पत्रकारिताका जोकरहरू अर्थात् जोकर पत्रकारहरूको बारेमा मात्रै उल्लेख गरिँदैछ ।
पत्रकारितालाई समाजको आँखा, समाजको शिक्षक आदि आदि नामले चिनिन्छ । पत्रकार त झ्न सबैको पथप्रदर्शक । पत्रकारिताले राज्यका तीन अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) लाई सन्तुलन (चेक एण्ड ब्यालेन्स) मा राख्न सक्ने भएकाले राज्यको चौँथो अंग भन्ने गरिएको छ । बेलायती राजनीतिक विश्लेषक एडमण्ड बर्कले सर्वप्रथम राज्यका तीन अंगपछि पत्रकार दीर्घामा बसेको पक्ष(पत्रकार) लाई चौथो अंग भनेर आफ्नो पुस्तक ‘रिफ्लेक्सन अन द रिभोल्युसन इन फ्रान्स’ मा लेखेका थिए । उनको यो पुस्तकमा उल्लेखित आधारमा १९ औँ शताब्दीका अंग्रेजी लोकप्रिय कवि कार्लाइलले पहिलोचोटी प्रेस वा पत्रकारलाई चौथो अंग भनेका हुन् ।
त्यसपछि नै पत्रकारिता जगतले यही मान्यता पाउँदै आएको छ । तर, नेपालको पत्रकारितामा चेक एण्ड ब्यालेन्स हराउँदै गएको छ । यो चौथो अंग नै अंगभंग हुन थालेको छ । नेपाली पत्रकार र पत्रकारिताका सकारात्मक पाटा धेरै भए पनि, हिजोभन्दा आजको पत्रकारिता अभ्यासमा नयाँ नयाँ पहलु, विविधता, प्रयोग, अभ्यास, मौलिकता थपिँदै गएको भए पनि, समाचार माध्यमको प्रकार र प्रवृत्तिको विकाससँगै यसको क्षेत्र फराकिलो हुँदै आए पनि विकृति र विसंगति उसरी नै मौलाएको छ । पत्रकारितामा नयाँ नयाँ जोकरहरू जन्मिरहेका छन् ।
यस्तो चरित्रधारीले कि स्पष्ट राजनीति कि स्पष्ट पत्रकारिता गरे कसो होला ? बिट पत्रकारिताको संगठन खोलेर मुठ्ठीभरकाले फाइदा उठाउनु र समाचार गुपचुप पार्नु आचारसंहितामा रहेर गरिएको पत्रकारिता हो ?
अरुभन्दा जोक भनेर हँसाउने व्यक्ति केही चर्चित हुने नै भयो । दुई चार जनाको तुलनामा गालीभन्दा ताली पाउने नै भयो । यसरी नै सही, नैतिकतामा चल्ने, बार्गेनिङ नगर्नेभन्दा अन्टसन्ट पत्रकारिता गरेर हँसाउने (अपवादबाहेक) जोकर पत्रकारहरूलाई नै असली पत्रकार मान्ने र उनीहरूलाई फूलमालाले स्वागत गर्ने, दोसल्ला ओढाउने, तक्मा पदवी दिइने गरिँदै आएको छ । यस्ताको बोली बिक्ने, अन्य पत्रकारको पेशा नै नटिक्ने अवस्था आउन थालेको छ ।
तर यसमा दोष समाजको भन्दा पनि सिंगो पत्रकारिताजगत, पत्रकारिता तथा आमसञ्चार अध्ययन गराउने कलेज, विश्वविद्यालय र सरोकारवाला संस्थाहरूकै छ । सबै राम्रा पत्रकार जन्माउन यी पक्ष नै असफल भएका छन् । समाचार माध्यमको सञ्चालन, लगानी, पत्रकारलाई दिइने पारिश्रमिक, जो पनि पत्रकार बन्न पाउने प्रणाली र समाचार माध्यमको बढ्दो संख्या आदि कारणले जोकर पत्रकार जन्मने क्रम बढेको हो ।
राजनीतिक पत्रकारिताका जोकरहरूले पत्रकारिता गरेको हो कि राजनीति छुट्याउनै गाह्रो छ । पत्रकारितामा विचार, आलोचना त हुन्छ, कुनै न कुनै दल र संगठनको पछि लाग्न सकिन्छ तर यिनीहरूले गरेको राजनीति कि पत्रकारिता भनेर अडियन्सलाई प्रष्ट नै पारिँदैन । सेवा, सुविधा, फाइदा, नियुक्ति लिन पाइँदा पत्रकार बनिदिने । पत्रकारको नाममा तक्मा, राष्ट्रिय पुरस्कारका लागि बिन्तीपत्र चढाउने, दोसल्ला थाप्ने, व्यावसायिक, निष्पक्ष, स्वतन्त्र, मर्यादित, सन्तुलित पत्रकारिता, पत्रकार आचारसंहिताको गुड्डी हाँक्ने, पत्रकारको संस्थामा बस्ने, पार्टी, संगठनका कमिटीमा सक्रिय, क्रियाशील हुने, मौका पाए पार्टीको टिकट लिएर चुनावमा भिड्ने, हारेपछि फेरि स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिताको तालिम दिँदै हिँड्ने ।
बढी मात्रामा पत्रकार आचारसंहिता हनन यिनै पत्रकारबाट हुने गर्दछ । पत्रकार आचारसंहिता पालना गर्नुपर्छ भन्ने थाहा भएर पनि यी बुझ पचाउँछन्, आचारसंहिता पालनामा अटेरी गर्छन् र पार्टी, संगठनको आडमा जानी जानी आचारसंहिता उल्लंघन गर्छन् । कि भने यिनीहरूले पत्रकारिता पूर्ण निष्पक्ष, स्वतन्त्र, सन्तुलित, व्यावसायिक हुँदैन, सिद्धान्त, विचार र आस्थाबिनाको पत्रकारिता नै हुँदैन, त्यसैले फलानो पार्टी वा व्यवस्थाको पक्षपोषणमा पत्रकारिता गरेका हौँ भन्न सक्नुपर्ने होइन ? के यिनीहरू गज्जबका जोकर पत्रकार होइनन् ? यिनीहरूको यस्तो पत्रकारिता गज्जबको जोक होइन ? जोकर पत्रकारिता होइन ? त्यसैले यस्तो चरित्रधारीले कि स्पष्ट राजनीति कि स्पष्ट पत्रकारिता गरे कसो होला ? जनतामा भ्रम त पर्दैनथ्यो कि ?
राजनीति नै नगर्ने सबै पत्रकारको जोक झन् कम ननभेज छ र ? कोही यस्ता जोकर पत्रकार छन्, जो बुम बोकेर प्लेनको ककपिटमै छिरी लाइभ दिन थाल्दछन् । कोही संवादमा पाहुना बोलाएर गए जा भन्ने जोकर पत्रकार छन् । कोही राजनीति गरेको होइन, कुनै पार्टी, संगठनमा छैन, कसैको साधारण सदस्यतासमेत लिएको छैन भन्छन् तर रेडियो र टेलिभिजनमा चिच्याइ चिच्याइ राजनीतिक पार्टी, संगठनको नेताले भन्दा बढी भाषण गर्छन् । वकिलले झैँ कुनै मुद्दाको बहस गर्छन् र आफैँँ फैसला लेखेर सुनाउँछन् । फेरि त्यसैलाई खाँटी र गाँठी पत्रकारिता ठान्दछन् । कोही माष्टरी पत्रकार छन् । स्कूल, क्याम्पस पढाउँछन् । तर सत्यतथ्य नबुझी फरक विचारको उछित्तो काढ्छन् । सत्तोसराप गर्छन् । कुनै न कुनै पार्टीको पक्षमा खुलेर लाग्छन् ।
यिनीहरूले पत्रकारिताको के सिद्धान्त, नैतिकता, आचरण, व्यावसायिकता सिकाउँदा हुन् ? के स्वच्छ पत्रकारिता गर्दा हुन् ? कोही मागेर मात्रै खाने जोकर पत्रकार छन्, कोही समाचारसँग पैसो साँट्ने जोकर पत्रकार छन् । कोही विदेशी राजदूतावासको दूत बनेर राष्ट्रवादी पत्रकारिता गर्ने त कोही एनजिओ, आइएनजिओको नाममा सूचना बेचेर अर्थात् वैदेशिक अदृश्य लगानीमा समाचार माध्यम चलाएर राष्ट्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट सेवा गरेको भ्रम छर्ने जोकर पत्रकार छन् । कोही कोही सिकारु जोकर पत्रकार छन् । यिनले जानेर भन्दा नजानेरै पत्रकार आचारसंहिता हनन गरी हसाउँछन् ।
तर यी बिस्तारै सच्चिन्छन् । बिट पत्रकारिताको नाममा त्यत्तिकै विकृति छ । बिटका नाममा पत्रकारितामा विविधता आउनु, विशिष्टीकृत पत्रकारिता हुनु अर्थात् विभिन्न क्षेत्र, विषयका विज्ञ पत्रकार उत्पादन हुनु त राम्रो तर पत्रकारको वृत्ति विकासका लागि भन्दा बिट पत्रकारिताको संगठन खोलेर मुठ्ठीभरकाले फाइदा उठाउनु र समाचार गुपचुप पार्नु आचारसंहितामा रहेर गरिएको पत्रकारिता हो ? एकथरि जोकर छन्, आफूलाई पत्रकार भन्छन् । मानिसको बेडरुम र किचनमै पुग्छन् । भ्युअर्स बढाउने नाममा पारिवारिक विवादलाई उल्झाएर द्वन्द्व चर्काउँछन् । सम्बन्ध नै टुटाइदिन्छन् । कोही आवरणमा आफूलाई स्वतन्त्र पत्रकार भन्छन् ।
यो क्षेत्रको अब्बल नै ठान्दछन् तर विवरणमा राजनीतिक पार्टी, कुनै संगठन वा शक्तिकेन्द्रको लबिंग गर्दछन् । चुनावी मौसम वा अवसर पाउने बेलामा आफ्नो सक्कली अनुहार देखाएर फलानो पार्टीको हुँ भनी चिनिन्छन् अनि रिचार्ज भएर अर्काे चुनाव नआउँदासम्म स्वतन्त्र पत्रकार बनेर हँसाउँछन् । कोही यस्ता पत्रकार छन् जो निष्पक्ष वरिष्ठ पत्रकार हुँ भन्छन् तर आफ्नो पत्रकारिताको जीवनभरि एउटै पार्टी र नेताको दोहोलो काढेर समाचार माध्यम सञ्चालन गर्छन् । यिनीहरू सबै पत्रकारिताका जोकर नभए के हुन् त ? के यी खतरा खतरा जोकहरू होइनन् त ? यसले आम नागरिक (अडियन्स) लाई हँसाएको छैन त ?
टिप्पणीहरू