धादिङमा एमाले भर्सेज तीनदलीय गठबन्धनको भिडन्त
-शंकर श्रेष्ठ
धादिङमा एमाले भर्सेज गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका छन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ ।
गठबन्धन अन्तर्गत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख,नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख,समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीमप्रसाद ढुंगाना, खनियाबास गाउँपालिकामा रणबहादुर तामाङ उठेका छन् । ढुंगाना र तामाङ पहिलो निर्वाचनबाट पनि विजयी उम्मेदवार हुन् ।
गंगाजमुनामा भक्तबहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती,ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै,सिध्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारीलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुबिभ्यालीमा रामसिंह तामाङ, बेनिघाट रोराङमा कृष्णबहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ,त्रिपुरासुन्दरीमा देवराज धरेल,खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्रबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धन गर्दा भागबण्डामा नपरेका पालिकाहरुमा पनि माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । वडा तहसम्म नै तालमेल गर्ने भनेर पालिकाहरुको भागबण्डा मिलाइएको भएपनि मनोनयन दर्ता गर्नेबेलासम्म वडा तहमा सहमति नजुटेपछि सबै पदमा उम्मेदवारी दिइएको नेकपा माओवादी धादिङका अध्यक्ष मनराज भण्डारीले बताए । ‘अहिलेलाई मनोनयन दर्ता गरेका छौं,पछि वडा तहको सहमति भयो भने मनोनयन फिर्ता लिएर पनि निर्वाचनमा सहभाागी हुन सक्छौं’ अध्यक्ष भण्डारीले भने ।
गठबन्धनकै तर्फबाट समाजवादीले धुनिबेसी नगरपालिकाको मेयरमा अध्यक्ष बालकृष्ण आचार्य,गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएको छ । आचार्य र श्रेष्ठ दुबै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी हुन् ।
समाजवादीले गठवन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्मबहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टापबहादुर श्रेष्ठ,सिध्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएको छ । समाजवादीले गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारैजना नयाँ अनुहार हुन् । उनीहरु नेकपा एमालेमा विद्रोह गरी समाजवादीतिर लागेका जिल्लामा परिचित नेता हुन् ।
प्रदेशस्तरीय ५ दलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाको प्रमुख,उपप्रमुख र गाउँपालिका अध्यक्ष,उपाध्यक्षको टुंगो लगाएर त्यहिअनुसार मनोनयन दर्ता गराइएको एकीकृत समाजवादी धादिङका इन्चार्ज गुरुप्रसाद बुर्लाकोटीले बताए ।
गठबन्धनसँग भिड्न नेकपा एमालेले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएको छ ।
एमालेले धुनिबेसीमा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठ,थाक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती,गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्रविक्रम बस्नेत र अम्बिका खतिवडा,बेनीघाट रोराङमा देवप्रकाश त्रिपाठी र हिरादेवी रेग्मी, सिध्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्रकुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल,नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विनाकुमारी मम्बा, गंगाजमुनामा भक्तबहादुर लामिछाने र एञ्जिला तामाङ,खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुबिभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन् ।
टिप्पणीहरू