विप्लवका उम्मेदवार देशभरि छपक्कै
स्थानीय चुनाव उपयोग कि बहिष्कार भन्ने विवाद र अलमलका बीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देशैभरि उम्मेदवारी मनोनयन गराएको छ ।
पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारका रुपमा पाँच जना केन्द्रीय सदस्यसहित करिब पाँच सयले मनोनयन दर्ता गरेको विप्लव समूहका एक नेताले जानकारी दिए । उनका अनुसार रोल्पा,रुकुम,दाङ,बर्दिया, सिन्धुलीसहित कर्णालीका अधिकांश ठाउँमा उम्मेदवारी परेको छ । त्यस्तै,दुई महानगर काठमाडौँ र भरतपुरमा पनि विप्लव समूहको तर्फबाट उम्मेदवारी परेको छ ।
सबैभन्दा बढी दाङमा उम्मेदवारी दर्ता भएको बताइन्छ । त्यस्तै रोल्पाका अधिकांश स्थानीय तहमा विप्लव समूहको तर्फबाट स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
यता,चुनावमा पार्टीको सहभागितालाई लिएर संस्थापन इतर खेमाको असन्तुष्टीका बीच भटाभट उम्मेदवारी परेपछि विप्लव समूहमा थप विवाद बढेको छ । पार्टी नीतिविपरित उम्मेदवारी मनोनयन गराएको भन्दै सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कन्चनले औपचारिकरुपमै असन्तुष्टी जनाएका छन् । उनले उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिएका छन् ।
विप्लव समूहको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार नउठाउने निर्णय गरेको थियो ।
तर,संस्थापन (विप्लव-प्रकाण्ड) पक्षले उम्मेदवार उठाएपछि बाँस्तोला रिसाएका हुन् । संस्थापन पक्षले भने ‘काउन्टर’ विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बताइएको छ ।
टिप्पणीहरू