बिर्सिंइँदै गएका तीता विगत
विभिन्न किसिमका अवसरहरूमा समाप्तप्रायः स्थितिलाई जसले जोखिम मोलेर सहज बनाइदियो, अन्तिममा उहीमाथि रेट्ने काम हुँदैछ, नेपाली कांग्रेसबाट ।
अहिले स्थानीय तह निर्वाचनको उम्मेदवारी टुंगो लगाउने समय छ । तर, भएजति सबै तहमा एक्लै जाऔँ भन्ने तलका कार्यकर्ताको दबावले पाँचदलीय गठबन्धनमा असहजता थपिँदो छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंहहरू गठबन्धन संस्कृतिका आधारमा अगाडि बढ्न दृढ भए पनि शेखर कोइराला, गगन थापाहरूले तल तलका कमिटी र कार्यकर्तालाई गठबन्धन स्वीकार्न बाध्य नभएको भन्दै नारा–जुलुसमै उतार्न लागेपछि समस्या आएको बताइन्छ ।
खासमा ०७४ को निर्वाचन परिणामअनुसार, कांग्रेसले पाँच वर्षसम्म प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, राजदूत, सबैखाले सरकारी नियुक्ति– यी सब मौकाहरू गुमाएकै हो । अस्वाभाविक र अप्राकृतिक रुपमा पददेखि सारा जोखिम व्यहोरेर माधव नेपाल, प्रचण्डहरूले देउवालाई प्रधानमन्त्री बनाइदिएपछि कांग्रेसले एकाएक यस्तो मौका पायो कि आएका जति सबै कुरा एकलौटी । ७७ जिल्लाकै सिडिओ एकलौटी ! राजदूतहरू पनि कुकुरलाई हड्डी फ्याँकिएको शैलीमा अरुलाई १–२ मा थन्क्याएर सबैजसो शक्तिराष्ट्रमा एकलौटी ! सरकारी नियुक्तिमा त्यही शैली । अनि, गठबन्धनका कम्युनिष्ट नेता उस्तै, छोरी, ज्वाइँ र आफन्तकै घेरामा परेपछि दिएको लिएर चित्त बुझाउनेमा पुग्दा कार्यकर्ता रुष्ट ।
०४८ मा कांग्रेसको सरकार बन्यो । ०५१ मै माओवादी जनयुद्धमा गयो । अर्थात्, कांग्रेसको पेलाइले सीमा नाघ्दा विगतमा के–के भयो भन्ने कुरा अहिले बिर्सिंदा अर्को विद्रोह व्यहोर्नुपर्ने खतराबारे सोचेको छ कि छैन ? प्रश्न गम्भीर छ । चुनाव स्थानीयमै सकिँदैन । अहिलेको बल मिच्याइँले गर्दा मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा ०७४ कै शैलीमा ‘ब्याक फायर’ भइदियो भने के हुन्छ ? यतातिर कांग्रेसजनले सोच्न भ्याएका छैनन् । भनिन्छ, अहिले चुनाव केन्द्रित भएर हाइड्रो, हेलिकोप्टर, हतियार र अन्य खरिदमार्फत् भरमार पैसा उठाइँदै छ ।
अहिलेको चुनावमा कांग्रेसको थिचोमिचोका कारण एकीकृत समाजवादीलाई अलिक समस्या परेको बताइन्छ । तीनै तहमा गठबन्धन गरेको भए यसमा नभए त्यसमा भन्ने हुन्थ्यो । समाजवादीतिर एमालेका पदाधिकारीहरू जो–जो गए, एक्लैएक्लै गए । यसकारण उनीहरूको भोट कम छ । यसले हार्ने खतरा बढाएको छ । त्यसपछि माधव नेपालले गठबन्धनले धोका दियो भन्ने अवस्था हुनसक्छ ।
टिप्पणीहरू