उम्मेदवारको संख्या अझ बढ्दै
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या एक लाख ४७ हजार दुई सय ७४ पुगेको छ । आज दिउँसो ३ बजेसम्म उक्त संख्या अपडेट भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचनको लागि हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । मनोनयन दर्ता गर्नेको विवरण जिल्लाबाट आउनेक्रम जारी रहेकाले अझै संख्या बढ्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५ सय ४२, मधेश प्रदेशमा ३८ हजार ७ सय ८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७ सय ८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४ सय ३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६ सय ७३ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै ३ हजार ४ सय ३० जनाले प्रमुखमा, ३ हजार ३ सय ६३ जनाले अध्यक्षमा, २ हजार ९७ जनाले उपप्रमुखमा, २ हजार ३ सय ८२ जनाले उपाध्यक्षमा, ३४ हजार ३ सय ५७ जनाले वडा अध्यक्षमा, २५ हजार ३ सय ४५ जनाले महिला सदस्यमा, २२ हजार ८ सय ९९ जनाले दलित महिला सदस्यमा र ५३ हजार ४ सय १ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
वैशाख ३० गते देशभरका ७ सय ५३ वटा स्थानीय तहमा ३५ हजार २ सय २१ पदको लागि निर्वाचन हुँदैछ ।
टिप्पणीहरू