ललितपुर उपमेयरकी एमाले उम्मेदवार शाक्यको उम्मेदवारी धरापमा
नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उनीविरुद्धको उजुरी परेको हो ।
मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले दिनुभएको जानकारीअनुसार उपमेयरकी उम्मेदवार मञ्जलीमाथि सांसदको बन्दसूचीमा नाम रहेका कारण उजुरी परेको बुझिएको छ । आज पाँच बजेको समयमा उक्त निवेदन पर्न आएकाले उक्त निवेदन भोलि हेर्ने गरि आजलाई फाइल बन्द गरिएको उहाँले जनआस्थालाई जानकारी दिनुभयो ।
‘भोलि उजुरी दिने पक्षले उम्मेदवारको नाम बन्द सूचीमा रहेको प्रमाण जुटाएर ल्याएको खण्डमा उनको उम्मेदवारी स्वतः खारेज हुन्छ,’ मुख्य निर्वाचन अधिकृतले भन्नुभयो ।
निर्वाचन आयोगले समानुपातिकतर्फ नाम भएकाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहेमा बैशाख १० गतेसम्म नाम हटाउन म्याद दिएको थियो । तर, मञ्जली माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकी र समानुपातिकमा माओवादीबाट बन्द सूची कायम रहेकाले नाम हटाउन असमर्थ भएको बताइएको छ ।
उनलाई माओवादी केन्द्रले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो । तर, उनको मतदाता नामावलीमा नाम नभएपछि त्यतिबेला पनि पछि हट्नुपरेको थियो ।
यता, माओवादी केन्द्रले नाम नहटाइदिए के हुन्छ ? भन्ने प्रश्नमा सिवाकोटीले आयोगले ‘क्लियर’ गरे मात्र उम्मेदवार हुन पाइने उल्लेख गर्नुभयो ।
टिप्पणीहरू