विराटनगरमा जे पनि हुनसक्ने
-आषिका लम्साल
पोखरा र भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन दलका बागी उम्मेदवारको खुब चर्चा भइरहेको छ । तर प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरमा उठेका बागी उम्मेदवारहरुले भने खासै चर्चा पाएका छैनन् ।
विराटनगरमा माओवादी केन्द्रको महानगर कमिटीकी सहसचिव केमुना ओडारी (मैनाली) ले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । शारदा नामले चिनिने उनले सुटुक्क सोमबार साँझ उम्मेदवारी हालेकी हुन् । उनले महानगरको उपमेयरमा आफनो आकांक्षा देखाउँदै आएकी थिइन् । त्यसैले उनले पार्टीमा छलफल नै नगरी सोमबार साँझ अन्तिम समयमा मेयरमा बागी उम्मेदवारी हालेकी हुन् ।
अघिल्लो दिन जसपा परित्याग गरेको घोषणा गरेका संघीय परिषद् सदस्य उमेश यादवले पनि प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले एक्लै मेयर र उपमेयर जित्न सक्ने अवस्था रहँदारहँदै पनि पार्टीले उपमेयरमा मात्र गठबन्धन गरेर आफूमाथि अन्याय गरेकाले पार्टी परित्याग गरी स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएको यादवले बताए । उनले पार्टी परित्याग गरिसकेकाले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । यादव २०७४ को निर्वाचनमा पनि मेयरका प्रतिस्पर्धी थिए । उनले तत्कालीन मधेशी फोरमको तर्फबाट चुनावी प्रतिस्पर्धा गर्दा तेस्रो स्थान प्राप्त गरेका हुन् ।
उता उमपेयरमा गठबन्धनभित्रकै दल जसपाले समावेशी सिध्दान्तलाई बेवास्ता गर्दै अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएपछि माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । २०७४ को निर्वाचनमा उपमेयरमा चुनावी प्रतिस्पर्धा गरेकी न्यौपानेले दाेस्रो स्थान प्राप्त गरेकी थिइन् ।
“आफूविरुध्द उजुरी परेपछि हतारमा राजीनामा बुझाएकी छन् । तर दर्ता किताबमा उनको रेकर्ड मिलान हुन दबाब दिइए पनि हुनसकेको छैन । “
विराटनगर महानगरमा एमालेले फेसन डिजाइनर शिल्पा कार्कीलाई उपप्रमुखमा उम्मेदवारी दर्ता गराउन लगाएको छ । कोशी अस्पताल विकास समिति सदस्यसमेत रहकी उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राजीनामा नदिई उम्मेदवार बनेकी उनले आफूविरुध्द उजुरी परेपछि हतारमा राजीनामा बुझाएकी छन् । तर दर्ता किताबमा उनको रेकर्ड मिलान हुन दबाब दिइए पनि हुनसकेको छैन ।
यदि शिल्पाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेमा स्वतन्त्रबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नमिता न्यौपानेलाई चिठ्ठा पर्ने अवस्था देखिँदैछ । उनको उम्मेदवारी फिर्ता गराउन माओवादीलाई निकै सकस पर्ने निश्चित रहेको बताइन्छ । उम्मेदवारी कायम भएमा जसपाका बागी उम्मेदवार उमेश यादवसँग उनको मोर्चावन्दी हुने सम्भावना पनि उत्तिकै छ ।
हुन त काँग्रेस र जसपाले क्रमशः मेयर र उपमेयरको उम्मेदवार पाए पनि वडामा सहमति नगरी एकलौटी उम्मेदवारी दर्ता गरेकाले माओवादी कार्यकर्ताहरुले बागी उम्मेदवारी दिएको बताइन्छ । वडाको भागवण्डा मिलाएमा मेयरकी बागी ओडारीले आफ्नो उम्मेदवारी फिर्ता लिनसक्ने अवस्था देखिन्छ । यदि एमाले उम्मेदवार कार्कीको उम्मेदवारी आयोगले खारेज गरिदिएको अवस्थामा उपमेयर पदकी बागी उम्मेदवार नमिताले चुनावी प्रतिस्पर्धा गर्ने पक्का छ । यस्तो अवस्थामा समानुपतिक समावेशी सिद्धान्तको कुरा गरेर नथाक्ने जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयर पदको चुनावी प्रतिस्पर्धा निक्कै महँगो पर्ने निश्चित छ ।
विराटनगर महानगरमा गठबन्धनबाट काँग्रेसका नागेश कोइरालाले र एमालेबाट सागर थापा र राप्रपाका प्रल्हाद साहसहित १७ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
टिप्पणीहरू