कांग्रेस र समाजवादीका नेता भेट्न प्रचण्ड चितवनमा

कांग्रेस र समाजवादीका नेता भेट्न प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवनस्थित पाँचदलीय गठबन्धनका नेताहरूलाई एकै ठाउँमा राखेर छलफल गर्नुभएको छ ।

उम्मेदवारी मनोनयनलगत्तै हिजो चितवन पुगेर प्रचण्डले भरतपुर महानगरमा उपमेयरका उम्मेदवारसहित काँग्रेस र एकीकृत समाजवादीका नेताहरुसंग सामुहिक कुराकानी गर्नुभएको हो । कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनालसहित उपमेयरका उम्मेदवार तथा कांग्रेस भरतपुर महानगर कमिटी सभापति चित्रसेन अधिकारीलाई भेटेर उहाँले गठबन्धनका साझा उम्मेदवारलाई जिताउने विषयमा छलफल गर्नुभएको बताइएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले चितवनका सात वटै स्थानीय तहमा चुनावी तालमेल गरेको छ । भरतपुर र माडीमा माओवादी केन्द्रले मेयर पाएको छ । कांग्रेसको भागमा रत्ननगर, खैरहनी,कालिका र इच्छाकामनाको मेयर परेको छ भने नेकपा एकीकृत समाजवादीले कालिका नगरपालिकाको मेयर पाएको छ ।

तर भरतपुर महानगरसहित कतिपय पालिकामा कांग्रेसले बागी उम्मेदवारी दिएपछि गठबन्धनका दलहरु तनावमा छन् । माओवादी केन्द्रले मेयर पाएको भरतपुरमा जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी हालेका छन् । त्यहाँ गठबन्धनका तर्फबाट रेणु दाहालको उम्मेदवारी छ ।

भरतपुर र पोखरा महानगरका बागी फिर्ता गराउन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफैँले पहल गरिरहेका बेला प्रचण्डले जिल्लास्थित गठबन्धन दलका नेताहरुसंग सामुहिक भेटघाट गर्नुभएको हो ।

टिप्पणीहरू