विप्लवबाट लखेटिएकाहरु आन्तरिक छलफलमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट कारवाहीमा परेका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली सुदर्शन र धर्मेन्द्र बाँस्तोला कञ्चनपक्ष आन्तरिक छलफलमा जुटेको छ । पार्टीले कारवाही गरेपछि आवश्यक तयारी र रणनीति बनाउन वली र बाँस्तोलाले आफूपक्षीय नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
विप्लवको कारवाहीमा परेका सचिवालय सदस्य वलीले आफू अहिले छलफलमै रहेको प्रतिक्रिया दिएका छन् । ’अहिले म छलफलमै छु, त्यसकारण पछि कुरा गरौंला है’, संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।
बाँस्तोला–वली पक्षका अर्का एक नेताले भने विप्लवको कारवाही खारेज गरेर जाने बताए । केन्द्रीय समितिमा आफूहरु बहुमतमा रहेको दाबी गर्दै उनले बैठक बोलाएर आवश्यक निर्णय लिने तयारी भइरहेको सुनाए । उनका अनुसार बहुमत केन्द्रीय सदस्यले विप्लव र प्रकाण्डलाई नै कारवाही गर्ने सम्भावना छ ।
विप्लव समूहमा चुनाव उपयोग कि बहिष्कार भन्ने विषयमा कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय समिति बैठकदेखि अन्तरकलह शुरु भएको हो । बैठकले चुनावमा जाने विप्लवको प्रस्ताव अस्वीकृत गरेको थियो । त्यतिबेला पाँच सदस्यीय सचिवालयका विप्लवसहित प्रवक्ता खडकबहादुर विश्वकर्मा एकातिर अनि बाँस्तोला र वली अर्कोतिर थिए ।
बिबादका बीच बैठकले आधिकारिक रुपमा पार्टी चुनावमा सहभागी नहुने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई सघाउने र कतिपय ठाउँमा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाउन सकिने मध्यमार्गी निर्णय गरेको थियो । तर, पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय वैठकले गरेको थियो ।
तथापि निर्णयको मसि नसुक्दै संस्थापन (विपल्व–प्रकाण्ड) चुनावी तयारीमा जुटेपछि असन्तुष्ट समूह थप चिढिएको र त्यहीबाट विभाजनको विउ रोपिएको बताइन्छ । त्यसयता, एकले अर्को पक्षलाई सार्वजनिकरुपमै आरोपित गर्ने, कारवाही गर्नेजस्ता होडबाजी नै चलेको छ ।
अस्ति विपल्वका तर्फबाट देशभर उम्मेद्वारी मनोनयन भएपछि सचिवालय सदस्य बाँस्तोलाले विज्ञप्ति निकालेर उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका थिए । पार्टीको लेटरहेडमा बकाइदा विज्ञप्ति आएपछि रुष्ट भएका विप्लवले आज विज्ञप्तिबाटै वली र बाँस्तोलालाई पार्टीबाट निकालेको घोषणा गरेका हुन् ।
टिप्पणीहरू