जेठदेखि आइतबार पनि बिदा, कार्यालय समय साढे ९ देखि साढे ५

जेठदेखि आइतबार पनि बिदा, कार्यालय समय साढे ९ देखि साढे ५

आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय भएको छ । हिजो बसेको क्याबिनेट बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अबदेखि कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बनाइएको छ ।

सरकारले फजुल खर्च र कार्यालय सञ्चालन खर्च घटाउने भन्दै उक्त निर्णय गरेको हो । विशेषगरी सवारी साधनमा प्रयोग हुने इन्धन खर्चमा कमी ल्याएन त्यस्तो व्यवस्था गरिएको बताइएको छ । तर, दुई दिन बिदासँगै अन्य पर्वलगायतका बिदासमेत लगातार परेको अवस्थामा कर्मचारीले प्रयोग गर्ने सवारी साधनको प्रयोगभन्दा दुरुपयोग झन् बढ्ने प्रशासनविद्हरु बताउँछन् ।

हिजोको क्याबिनेट बैठकले भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिएको छ भने गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ६५ रुपैयाँ निर्धारण गरेको छ ।

बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ भने सिन्धुपाल्चोकको तातोपानी गाविसमा रहेको ९ रोपनी जग्गा भोटेकोशी गाँउपालिकालाई लिजमा उपलब्ध गराउन दिएको छ ।

बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । फाप्लामा अन्तराष्ट्रिय किक्रेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश, २०७८ लाई स्वीकृत प्रदान गर्नेलगायतका निर्णय क्याबिनेटको माइन्युटमा उल्लेख छ ।

टिप्पणीहरू