एमालेसँग मिलेर चुनाव लड्न कांग्रेस नेताले सांसदको लोगो फ्याले
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस नेता कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले हिजो अनुशासनको कारबाही गरेपछि आज उनले सांसद पद छोडेका हुन् ।
आज डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाे घोषणा गरेका हुन् । उनले कांग्रेसले विधि विधान कुल्चेर आफूलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको भन्दै सांसद पदमा रहन नैतिकताले नदिने बताए ।
‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ राजीनामा दिँदै उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन । त्यसैले आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु ।’
देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए । देउवाविरुध्द जिल्लामा अभियानै चलाएका उनी चुनावमा गठबन्धन गर्ने निर्णयको पनि विपक्षमा थिए ।
पाँचदलीय गठबन्धन गर्ने पार्टी केन्द्रको निर्णयविरुध्द मल्लले एमालेसँग चुनावी तालमेल गरेपछि उनी अनुशासनको कारवाहीमा परेका थिए । कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै उनी एमालेतिर लागेपछि साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले हिजोमात्रै उनलाई कारबाही गरेको हो ।
टिप्पणीहरू