हवाई सुरक्षामा नेपालको प्रगति, कालोसूचीबाट हट्ने सम्भावना कति ?

हवाई सुरक्षामा नेपालको प्रगति, कालोसूचीबाट हट्ने सम्भावना कति ?

अन्तर्राष्ट्रिय हवाई सुरक्षा (एयर सेफ्टी) को अडिटमा नेपालले प्रगति गरेको छ । गत सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिखसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । उनले यस अगाडि गरिएको अडिटले नेपालले ६६.०२ प्रतिशत नम्बर पाएकोमा यो वर्ष २०२२ मा गरिएको अडिटले ३.४३ प्रतिशतले बढेर ७०.१ प्रतिशत पुगेको जानकारी दिए ।

महानिर्देशक अधिकारीले हवाइ सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको बताए । उनले आईकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुगेको पनि सुनाए ।

आईकाओका अडिटअनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपालले यी दुबै औसत दरमा माथि रही परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको छ ।

नेपालले हवाई सुरक्षामा प्रगति गरेपनि विगत लामो समयदेखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन । २०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको छ ।

नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो । आईकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षा (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति देखाएपश्चात कालोसूचीबाट हट्ने सम्भावना देखिएको छ ।

टिप्पणीहरू