निर्वाचन आयोगले गृहमन्त्रीलाई नोटिसमा राख्यो
बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन भन्दै गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेको विषयलाई निर्वाचन आयोगले नोटिसमा राखेको छ । सार्वजनिक सेवाको पदमा बसेर सार्वजनिक सम्पत्तिको प्रयोग गरेको भन्दै आयोगले मन्त्री खाँणलाई नोटिसमा राखेको हो ।
सार्वजनिक पदमा रहेका व्यक्ति चुनावी मैदानमा खटिनु आचारसंहिता विपरीत भएको बताउँदै नियमित पत्रकार सम्मेलनमा आयोगको त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । तर, सिङ्गो काँग्रेसले भने गठबन्धनबाट भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारी रेणु दहाललाई समर्थन गर्ने बताइसकेको छ ।
पौडेलले आफूले पार्टीको तर्फबाट मेयरमा उठ्न नपाएपछि बागी उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँलाई नाम फिर्ता लिन लगाउन गृहमन्त्री खाँण भरतपुरमा सक्रिय भइरहनुभएको छ । सबै पक्षसँग छलफल गरिरहनुभएका उहाँले तत्काल सहमति जुटिनसकेको जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।
उहाँले अझै बैठक र छलफल नसकिएको जानकारी गराउँदै छिट्टै समस्या समाधान हुने दाबी गर्नुभयो ।
टिप्पणीहरू