अर्को हप्तादेखि को एसएसपी, को आइजीपी ?

अर्को हप्तादेखि को एसएसपी, को आइजीपी ?

स्थानीय निर्वाचनको मिति घोषणा नभएको हुन्थ्यो भने, सम्भवतः यतिबेला नेपाल प्रहरीले नयाँ नेतृत्व पाइसक्ने थियो । वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका महानिरीक्षक (आइजीपी) सैलेश थापा क्षेत्री बैशाख १ गतेदेखि घर बस्ने तयारीमा थिए । तर, चुनावी सुरक्षाको बागडोर सम्हाल्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको फौजलाई नेतृत्वविहीन नबनाउने सरकारी निर्णयको कारण तत्काल नयाँ आइजीपी नियुक्ति प्रक्रिया रोकिएको छ ।

१७ गते शनिबार, १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवशको बिदा भएका कारण पर्सि शुक्रबार आइजीपीसहित थुप्रै अफिसरको अन्तिम कार्य दिन हुनेछ । वरिष्ठताका आधारमा आइजीपी नियुक्त हुँदा विश्व पोखरेल सबैभन्दा बलियो दावेदार हुन् । उनी एआइजीको एक नम्बर वरियतामा छन् । तर, प्रहरीमा पटक–पटक वरिष्ठता मिचिएको विगतको नजिरले ढुक्क हुने अवस्था भने छँदै छैन ।

नेपाल प्रहरीको सांगठानिक इतिहासमा वरिष्ठता मिचेर बढुवा भएका केही उदाहरण छन् । पहिलो वरियताका रविन्द्रप्रताप शाहलाई छोडेर दुई नम्बरका रमेश चन्दलाई आइजीपी बनाइएको थियो भने जयबहादुर चन्दको नियुक्ति चर्को विवादमा परेकै हो । शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला एक नम्बर वरियताका नवराज सिलवाललाई कासमू किर्तेमा परेपछि तेस्रो वरियतामा रहेका चन्दलाई आइजीपी बनाउने निर्णय अदालतसम्म पुगेर दोस्रो नम्बरका प्रकाश अर्याल आइजीपी बनेका थिए ।

तर, सरकारले हालै वरिष्ठताकै आधारमा सशस्त्र प्रहरी प्रमुख नियुक्त गरेकाले नेपाल प्रहरीमा पनि त्यही मापदण्ड लागू हुने विश्वास प्रहरी अधिकारीहरूले गरेका छन् । एकै मितिमा बढुवा भएका बाहेक प्रहरी अधिकृतहरूबीच आइजीपीमा प्रतिष्पर्धा भएको इतिहास छैन ।

१७ महिनाअगाडि नै एआइजीमा बढुवा भएका पोखरेल एक्ला प्रतिष्पर्धी हुन् । उनी एआइजी भएको ८ महिनापछि मात्रै सहकुल थापा ओली सरकारले दरबन्दी थपेअनुसार बल्ल बढुवा भएका थिए । गत महिना धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्र धानुक बढुवा भएर आएका छन् ।

सिफारिस समितिले मापदण्ड मिचेर बढुवा गरेको भन्दै तीनजना असन्तुष्ट डिआइजीले सर्वोच्च अदालतमा हालेको मुद्दा विचाराधीन छ । ब्याचमेटहरूबाट एआइजीकै योग्यतामा प्रश्न उठाइएकाले आइजीपीमा दावेदारी नैतिक हिसाबले पनि कमजोर ठहरिन्छ ।

धीरजप्रताप, रविन्द्र र वसन्तको कार्यसम्पादन मूल्यांकनको फारम भरेर बढुवाका लागि पोखरेलले नै सिफारिस गरेका हुन् । त्यसैले उनलाई तल राखेर एकैदिन भर्ना भए पनि फुली तलमाथि पहिले नै पारिसकिएकाले अरुलाई आइजीपी बनाइने सम्भावना नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कथं १७ महिनापहिले नै एआइजी भएकालाई छोडेर हालै बढुवा पाएकालाई आइजीपी बनाउने निर्णय भएको अवस्थामा त्यसविरुद्ध अदालतमा रिट पर्नसक्ने देखिन्छ ।

यता, एसएसपीमा भने भएभरका सबैले बढुवा पाउने सम्भावना छ । आजभोलि नै बढुवा हुनलाई एसएसपीको रिक्त सिट १२ छ । वैशाख १८ पछि थप १९ गरी ३१ सिट खाली हुँदै छ । जसमध्ये कम्तीमा ३० जना बढुवामा पर्ने प्रहरी स्रोतले बताएको छ ।

हाल एउटै ब्याचमा रहेका ३५ जना एसपीमध्ये एकजनाले बढुवाअघि नै अवकाश पाउँदै छन् भने एकजनाको बढुवा रोक्कामा परेको छ । घुस काण्डमा मुछिएर सिन्धुपाल्चोक पठाइएका रामेश्वर यादव बढुवामा पर्ने छैनन् भने केदार रजौरे जेठ ४ गते घर जाँदै छन् । बाँकीमध्ये एक–दुई जनाबाहेक सबै बढुवामा पर्ने अवस्था छ ।

एसएसपी बन्ने यो लटमा कम्तिमा आठ जना गुप्तचर विभागबाट आएकाहरू पर्ने निश्चित देखिन्छ । बढुवामा डिल्ली बिष्ट एक नम्बर र बाँकी दुईदेखि ९ नम्बरसम्म गुप्तचरबाट आएकाहरू छन् । एक नम्बरमा रहेका बिष्ट कञ्चनपुरमा हुँदा निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा अनाहक फसाइएका थिए । उनीमाथि लागेको निलम्बन फुकुवा भैसकेको छ ।

टिप्पणीहरू