विप्लवको विद्यार्थी संगठनमा पनि कित्ताकाट

विप्लवको विद्यार्थी संगठनमा पनि कित्ताकाट

चुनावमा पार्टीको सहभागितालाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुको अन्तरकहलले नेता–कार्यकर्ताहरुमा कित्ताकाट शुरु भएको छ । चुनाव उपयोगको पक्षमा उभिएको संस्थापन (विप्लव–प्रकाण्ड) पक्ष र विरुद्धमा उभिएको अर्को खेमाबीच विवाद बढिरहेका बेला मातहतका कमिटी र जनवर्गीय संगठनहरुमा कित्ता छुट्टिन थालेको हो ।

विप्लवले हिजो चुनाव उपयोगको विपक्षमा उभिएका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ माथि कारवाहीको घोषणा गरेका थिए । कपिलवस्तु बैठकदेखि चर्केको विवाद उत्कर्षमा पुगेका बेला एकाएक दुई नेता कारवाहीमा परेपछि विप्लव समूह विभाजनको डिलमा पुगेको छ । त्यसको प्रभाव तल्ला कमिटी र जनवर्गीय संगठनहरुमा समेत देखा पर्न थालिसकेको छ ।

पार्टी केन्द्रको विवादले सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा पनि विभाजनको रेखा कोरिएको छ । वली र बाँस्तोलामाथि कारवाहीको डण्डा बर्साउने विप्लवको कदमको समर्थन र विरोधमा वक्तव्यवाजी हुन थालेका छन् । हिजो क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले विप्लवको कदमको समर्थनमा निकालेको विज्ञप्तिविरुद्ध आज महासचिव, सचिव र कोषाध्यक्षले काउण्टर दिएका छन् ।

महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपा बूढा मगरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरित स्थानीय चुनावमा जाने निर्णय र दुई शीर्ष नेतामाथिको कारवाहीको विरोध गरेका छन् ।

‘सहिदहरुको सपना पार्टी÷आन्दोलन र क्रान्तिभन्दा ठूलो ठान्दै दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णय विपरित लहसिएर पार्टी फुटाउन उद्धत भइ कमरेड विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय क. धमेन्द्र बाँस्तोला र क. हेमन्तप्रकाश वलीमाथि गरिएको कथित जिम्मेवारीमुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारवाहीले हामी स्तब्ध भएका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले कारवाही फिर्ता लिएर राजनीतिक र वैचारिक बहसका लागि तयार हुन आग्रह गर्दै पार्टी एकताबद्ध बनाउने प्रक्रिया अघि बढाउन विप्लवलाई भनेका छन् । साथै पार्टी नेतृत्वलाई रुपान्तरण गराएर आन्दोलनलाई एकताबद्ध बनाउने आफूहरुको प्रयास जारी रहने तर त्यसो हुन नसके विद्रोहको झण्डा उठाउने उनीहरुको चेतावनी पनि छ ।

‘नेतृत्वको क्रान्तिकारी रुपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने हाम्रो पवित्र उद्देश्य अझै जारी रहनेछ’, विज्ञप्तिमा भनिएको छ, ’पार्टी नेतृत्व रुपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाघडीका बीच फेरी पनि चुनौती मोल्दै क्रान्तिको झण्डा बोकेर संघर्षको नयाँ प्रक्रियामा अगाडि बढ्न तयार रहन हाम्रो संगठनका सम्पूर्ण नेता–कार्यकर्ता कमरेडहरु, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरुमा हार्दिक आह्वान र अपिल गर्दछौँ ।’

यसअघि अध्यक्ष शाहीले विप्लवको कदमको समर्थन गर्दै निकालेको विज्ञप्तिप्रति पनि उनीहरुले आपत्ति जनाएका छन् । कमिटीमा छलफल नै नगरी शाहीले गुटगत र फुटवादी मानसिकताले विज्ञप्ति निकालेको उनीहरुको आरोप छ ।

क्रान्तिकारीको केन्द्रमा चर्केको विवाद जिल्ला तहमा पनि पोखिन थालेको छ । आजै ललितपुर जिल्ला समितिले संस्थापन पक्षको समर्थनमा विज्ञप्ति निकालेको थियो । जिल्ला इञ्चार्ज निगम भण्डारी र संयोजक मानबहादुर तिरुवाले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु मूल नेतृत्वप्रति प्रतिवद्ध र विश्वस्त रहेको बताएका छन् । पछिल्लो समय पार्टीमा आर्थिक, सांगठानिक अराजकता, फुटपरस्त गतिविधि र पार्टी नीति एवं नेतृत्वका विरुद्ध षड्यन्त्र भइरहेको भन्दै उनीहरुले विप्लवको बचाउ गरेका हुन् ।

चुनावमा जाने विप्लवको निर्णयले यसअघि कास्की जिल्ला समितिमा पनि लफडा मच्चिएको थियो । विप्लव पक्षले वली–बाँस्तोला खेमाका समर्थक जिल्ला नेतालाई कारवाही गरेपछि असन्तुष्ट खेमाले उल्टै जिल्ला इञ्चार्ज उमा भुजेलमाथि दर्जनौँ आरोप लगाउँदै पार्टीबाट निकालेको घोषणा गरेको थियो ।

टिप्पणीहरू