चितवनमा बागी काँग्रेसीलाई अनेक आश्वासन

चितवनमा बागी काँग्रेसीलाई अनेक आश्वासन

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता तथा उनका प्रस्तावक र समर्थकहरुलाई सरकारी आश्वासन र प्रलोभन दिइएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिको रुपमा भरतपुर पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न बागी उम्मेदवार तथा काँग्रेसका पुराना नेता जगन्नाथ पौडेललगायतलाई आग्रह गर्दै उक्त आश्वासन दिनुभएको हो ।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा मीना खनाल र समर्थकमा कृष्णलाल सापकोटा छन् । सत्तारुढ गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार माओवादी केन्द्रको भागमा परेको हो । उक्त पार्टीको तर्फबाट यसअघि निर्वाचित मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल उठेकी छन् ।

उपमेयरमा काँग्रेस उम्मेदवार उठेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि माओवादी र काँग्रेसबीच तालमेल भएको थियो । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र र गृह जिल्लासमेत भएका कारण भरतपुर माओवादी र प्रचण्डको निम्ति प्रतिष्ठाको विषय बनेको हो ।

यसअघि विजयी मेयर रेनु दाहालको विजय र पराजयसँग आगामी संसदीय निर्वाचनसँग अध्यक्ष दाहालको विजय जोडिएकाले पनि उक्त पद र महानगरपालिका उनीहरुको निम्ति जीवन र मरणको विषय बनेको हो । यता नेपाली काँग्रेसको पनि राम्रो पकड रहेको क्षेत्र भएकाले सँधै हसियाँ हथौडा चुनाव चिन्हमा हात हाल्नुपर्ने बाध्यताबाट मुक्त हुन चाहेको बताइन्छ ।

रेनुको पराजयले केन्द्रीय सत्ता गठबन्धनमा धक्का लाग्ने देखिएपछि प्रधानमन्त्री देउवाले जसरी पनि बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन राज्य शक्ति नै दुरुपयोग गरेको विपक्षीहरुको आरोप छ । तर सरकारी पक्षले बागी उम्मेदवार जगन्नाथ पौडेललाई राजदूतको अफर गरेको बताइन्छ ।
त्यसैगरी उनका समर्थक कृष्णलाल सापकोटालाई पनि राजदूत वा समानुपातिक सांसद र प्रस्ताव मीना खनाललाई राष्ट्रिय योजना आयोगमा राजनैतिक नियुक्तिसहित केहि रकमको समेत प्रलोभन देखाएको स्रोतको दाबी छ । तर उनीहरुले ती सबै आश्वासन र प्रलोभनलाई अस्विकार गरिदिएका हुन् ।

टिप्पणीहरू