गठबन्धनबाहिरको गठबन्धनबाट निस्कन गठबन्धनको निर्देशन

गठबन्धनबाहिरको गठबन्धनबाट निस्कन गठबन्धनको निर्देशन

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले एमालेलगायत गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको चुनावी तालमेल तत्काल खारेजीको निर्णय गरेको छ । आजको बैठकले केन्द्रको निर्देशन विपरित भएका त्यस्ता तालमेल खारेजीको निर्णय गरेको हो ।

बैठकले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिएको छ । यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो ।पाँचदलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता दिलाउन पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो ।

स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् । त्यस्तो उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीबाट उम्मेदवारहरूलाई निर्देशन जारीसमेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फिर्ता लिने समय आज साँझसम्म रहेको छ ।

टिप्पणीहरू