सीट अर्कोलाई गयो,रिस आफ्नैलाई
सत्तारुढ गठबन्धन दलबीच भएको स्थानीय निर्वाचनमा तालमेलप्रति असन्तुष्ट र बिरोधमा उत्रेका दुई दर्जन काँग्रेसीलाई पोखरास्थित कास्की जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हिजो दिउँसो काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोडमा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले हिजो कार्यालयको झ्यालको सिसा,कुर्सी,टेबल तोडफोड गरेका थिए । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
गठबन्धनको बिरोधमा पोखरा महागनरपालिका ३ स्थित तेर्सापट्टीमा रहेको नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य समितिको कार्यालयमा काँग्रेसीहरुले नै आक्रमण गरेका हुन् । असन्तुष्ट पक्षले प्रदेश सभापतिको कार्यकक्षमा तोडफोड गरेका थिए । आज भने त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
चुनावी तालमेलअनुसार पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य उठेका छन् । काँग्रेसले उपमेयरको उम्मेदवारी पाएको छ ।
यता काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई नाम फिर्ता लिन र तालमेलअनुसार उम्मेदवार बनेका आधिकारिक उम्मेदवारलाई सघाउन काँग्रेसी कार्यकर्ता र मतदातालाई आह्वान गर्नुभएको छ ।
तर काँग्रेसीहरुले विशेषगरी,पोखरा, भरतपुर र हेटौंडामा चर्को असहमति राखेका छन् । पोखरा र हेटौंडामा मेयर नेकपा एकीकृत समाजवादी र भरतपुरमा माओवादी केन्द्रको भागमा परेको छ । उपमेयरमा भने तीनै ठाउँमा काँग्रेसले उम्मेदवार उठाएको छ ।
टिप्पणीहरू