घोषणापत्र सार्वजनिक गर्दै लोसपाले भन्यो, नेपाल बहुराष्ट्रिय मुलुक हो !

घोषणापत्र सार्वजनिक गर्दै लोसपाले भन्यो, नेपाल बहुराष्ट्रिय मुलुक हो !

उपेन्द्र यादवबाट फुटेर हालैमात्र गठन भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बहुराष्ट्रियताको मुद्दालाई आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ । आज जारी गरिएको सो पार्टीको घोषणापत्रमा नेपाल बहुराष्ट्रिय मुलुक भएको दाबी गरिएको छ ।

नेपालको विविधता सौन्दर्यमात्र नभई मुलुकको शक्ति पनि भएको तर, शासकहरूले त्यसलाई सहीरुपले प्रयोग गर्न नसकेको लोसपाको भनाइ छ । घोषणापत्रमा नेपालका लागि सबैभन्दा ठूलो चुनौती सबै अटाउने साझा राष्ट्रवादको भावनाका साथ एक समृद्ध लोकतान्त्रिक राजनीतिक प्रणाली निर्माण गर्नु हुने उल्लेख गरिएको छ ।

‘तर विडम्बना, विविधतायुक्त नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधतामा अन्तरनिहित नेपालको यो शक्तिलाई मनन् गर्न नसकेका र नेपाललाई सबैको साझा बनाउने र नेपालप्रति सबैमा अपनत्व जगाउनुको सट्टा केही पक्ष र पात्रहरुद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरुप पार्ने चेष्टा गरियो । फलस्वरुप, नेपाल भौगोलिक रुपमा एक भएता पनि यो भावनात्मक रुपमा एक हुन सकेन,’ लोसपाले घोषणापत्रमा भनेको छ ।

मुलुकको क्षेत्रीय, सामुदायिक, धार्मिक र जातीय विविधता एवम् भौगोलिक र अन्य कारणले फरक हुन गएका राष्ट्रहरुलाई एकै राज्यमा स–सम्मान आत्मसात् गर्दै राष्ट्र–राज्य निर्माणको दिशामा अग्रसर हुनुपर्ने लोसपाले जनाएको छ । ‘असमावेशीताले असमानता, असमानताले विद्रोह र विद्रोहले अस्थिरतालाई जन्म दिन्छ,’ घोषणापत्रमा भनिएको छ ।

नेपालको संविधानले समावेशितालाई सैद्धान्तिक रुपमा स्वीकार गरेता पनि परम्परागत विभेदकारी राज्य–व्यवस्था, अहंकारी शासकवर्ग, पूर्वाग्रही प्रशासन र अझैसम्म अस्तित्वमा रहेको जातीय संकीर्णताका कारणले समावेशिताको यात्रा लक्ष्य अनुरुप अघि नबढेको लोसपाको निस्कर्ष छ ।

टिप्पणीहरू