बागी काँग्रेसीको रहस्यबारे माओवादीका नेता बेखबर, झण्डा हालेको गाडी चढेर मन्त्री जिल्लामा चौबिसै प्रहर

बागी काँग्रेसीको रहस्यबारे माओवादीका नेता बेखबर, झण्डा हालेको गाडी चढेर मन्त्री जिल्लामा चौबिसै प्रहर

सत्तारुढ पाँच दलीय गठबन्धनमा व्यापक खटपट देखिएपछि माओवादी केन्द्रकी लमजुङ्ग संयोजक तथा गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङ झण्डा फहराइएको सवारी साधनसहित केही दिनदेखि लमजुङ पुगेकी छन् । गठबन्धन भनेर भागबण्डा लगाए पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागमा परेका पालिकाहरुमा धमाधम काँग्रेसका बागी उम्मेदवार घाँडो बनेपछि काँग्रेसकै सेटिङमा यो सबै त भइरहेको छैन रु भन्ने प्रश्न उठाउन थालिएको छ ।

त्यसो होइन भने माओवादीका उम्मेदवार भएका पदमा मात्रै बागी उम्मेदवार उठ्नुपर्ने कारण के हो रु भनेर जवाफ खोज्न थालिएको छ । लगातार बसिरहेको गठबन्धन बैठकमा माओवादी केन्द्रका नेताहरु काँग्रेसका जिल्ला सभापति टकराज गुरुङमाथि खनिएका हुन् ।

कुरा चाँही माओवादी केन्द्रका नेताहरुले पनि बुझे जस्तो पनि छैन । बेसीशहर नगरपालिकामा काँग्रेसले हरि बराललाई नै मेयरमा उठाउने निधो गरेको थियो । मोटो ‘भेटी’ को अफर भयो । महाधिवेशन प्रतिनिधिसमेत रहेका बराललाई उक्त कुरो सह्य हुने कुरा पनि भएन । अर्का चर्चामा रहेका वृषराज गुरुङलाई पनि सोही प्रस्ताव गरियो तर उनी त्यो डिमाण्ड पूरा गर्ने हैसियतमा थिएनन् । तर गुरुङ आफूलाई त्यस्तो कुनै प्रस्ताव नआएको बताउँछन् ।

उपमेयरका आकांक्षी त्रिकाशी गुरुङले मागबमोजिम ४० लाखको जोहो गरेको तर उम्मेदवारको निधो पक्का नभएपछि भेटी दान गर्न नपरेको चर्चा पनि चलाइएको छ । बेसीशहरमा माओवादी केन्द्रका हरिजंग तामाङलाई गठबन्धनले आधिकारिक उम्मेदवार माने पनि काँग्रेसका जीवनकुमार श्रेष्ठले उपमेयरमा मनोनयन दर्ता गरेका हुन् । नेकपा एकीकृत समाजवादीका मोहन थापाले पनि उपमेयरमा नै उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा उठ्ने चर्चामा रहेका सुन्दरबजारका द्वारिका मिश्रले पनि उपमेयरमा उम्मेदवारी दिएका छन् । जहाँ गठबन्धनले समाजवादीका अध्यक्ष रामबाबु अधिकारीलाई उठाएको थियो । मध्यनेपालमा माओवादी केन्द्रका उम्मेदवार विरुद्ध काँग्रेसका विश्वास पौडेलले बागी हालेका छन् ।

राईनास नगरपालिकामा नेपाली काँग्रेसकी पुरानी नेतृ विष्णुमाया धितालले प्रदेशबाट उपमेयरको टिकट ल्याएदेखि तनावमा छन् । विभिन्न माध्यमबाट सभापति टकराज गुरुङले धिताललाई उम्मेदवारी फिर्ता लिन दबाब दिएका छन् । उम्मेदवारी दर्ता र दाबी विरोधको समयसम्म पनि केही नबोलेका गुरुङका मान्छेले धितालसँग तत्काल सात लाख मागेको गाईंगुई छ । स्रोतका अनुसार बिटो लिएर पाउँदी आउनु भनेर बोलाए पनि धिताल पैसा दिन राजी नभएका हुन् ।

त्यसपछि भने कारबाहीमा पर्ने, प्रदेशबाट होइन केन्द्रबाट टिकट दिने भन्दै धम्की दिइएको पारिवारिक स्रोतले जानकारी गराएको छ । उक्त पालिकामा माओवादी केन्द्रका पुष्पराज खनाल काठमाडौं बसेर राईनास–६ मा ईंटाभट्टा चलाउँछन् । खनाललाई एक जना महिलाले पैसा ठगेको आरोपमा जिल्ला अदालत लमजुङमा मुद्दा हालेकी छन् ।

दोर्दी गाउँपालिकामा संविधान सभाका समानुपातिक सभासद् लालबहादुर गुरुङ अध्यक्षका उम्मेदवार छन् । दोर्दी काँग्रेसले आफूहरुलाई गठबन्धन मान्य नहुने भन्दै विज्ञप्ति पनि जारी गरेका थिए । सोही पालिकामा माओवादी केन्द्रका गुरुङलाई अध्यक्ष दिएपछि क्षेत्रीय सभापति समेत रहेका दरजङ गुरुङले बागी उम्मेदवारी दिएका हुन् ।

दुधपोखरीमा अन्तिमसम्म पनि काँग्रेसले खुशीमान गुरुङलाई अड्काएर टिकट धनराज गुरुङलाई दिएपछि आक्रोशित खुशीमान गुरुङ बागी बनेका हुन् । चुनाव सम्भवत उनैले जित्ने आकलन गरिएको छ । काँग्रेसले सबै पालिकामा बागी बन्दै उम्मेदवारी दिँदै गर्दा बेसीशहर १० मा वडाध्यक्ष गंगाबहादुर थापाबिरुद्ध रमेश घलेले र ६ मा यामबहादुर रिमालको टीमबिरुद्द बागी उम्मेदवारी परेको छ । जिल्लाका चार नगपालिका, चार गाउँपालिका र ७५ वडामा कूल तीन सय ९१ सिटका लागि एक हजार एक सय ४७ जनाको उम्मेदवारी परेको छ ।

-अञ्जनकुमार हिमाली

टिप्पणीहरू