एमाले छाड्ने र भित्रिनेहरु उस्तै
संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले एमालेले पुनः उम्मेदवारको टिकट नदिएपछि पार्टी परित्याग गरेका छन् । अघिल्लो चुनावमा एमालेको टिकटबाट गाउँपालिका अध्यक्ष जितेका पोखरेलले अर्को पार्टी रोजेको घोषणा भने गरेका छैनन् ।
उता कैलालीमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका एक जनाले एमाले रोजेका छन् । गोदावरी नगरपालिका,कैलालीमा माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्काले एमाले रोजेकी हुन् । अत्तरियामा आयोजित एमालेको कार्यक्रममा उनले एमाले रोजेको बताएकी छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष पद त्यागेका श्रीधर पोखरेलले पनि एमाले रोजेका छन् । उनले हेटौंडाको मेयर पदको टिकट नपाएपछि उक्त पार्टी छाडेको बताइन्छ ।
रसुवामा नेकपा माओवादी केन्द्रबाट गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तेन्जिङ छेसाङ तामाङले पनि एमाले रोजेका छन् ।
उनीसहित जिल्ला कमिटी सदस्य कान्छा तामाङ र गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार छोङी तामाङलगायत १६ जना एमालेमा प्रवेश गरेको बताइएको छ ।
टिप्पणीहरू